पर्यटकीय क्षेत्र काँक्रेविहारमा तोडफोड

 साउन २४, २०७६ शुक्रबार ७:५:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत - नचिनेका मानिसहरुकाे समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ ।

वीरेन्द्रनगर–९, लाटीकोइलीमा रहेकाे पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार नचिनेका मानिसहरुकाे समूहले ताेडफाेड गरेकाे हो ।

स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो । ‘उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ’, उहाँले भन्नुभयो, ‘प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।’

दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन् । रातिको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयवासी बताउँछन् ।

गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर–९ को वडा कार्यालयले चासो दिएको छ । वडाध्यक्ष सुरेश मानन्धरले तोडफोडमा संलग्नको पहिचान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । प्रहरीले मंगलबार घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।

वडाध्यक्ष मानन्धरले काँक्रेविहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको बताउनुभयो । ‘काँक्रेविहारमा अस्थायी प्रहरी पोष्ट राख्न पनि अनुरोध गरेका छौँ, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुने मध्येको एक स्थान हो’, उहाँले भन्नुभयो, ‘पुरातात्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जीर्णोद्धार भइरहेको छ, त्यसैले अब चौकीदार र सुरक्षा पोष्टको आवश्यकता भइसकेको छ ।’ 

पुरातत्व विभागले ०७२ सालदेखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ । काँक्रेविहारमा २१ मिटर अग्लो कलात्मक शिखर शैलीको मन्दिर बन्दैछ ।

जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेविहार क्षेत्रमा विद्युत्, सीसीटीभी क्यामरा जडान र चौकीदार राख्न आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले घटना संलग्नहरुको खोजी भइरहेको बताउनुभयो । ‘प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको छ, रातिको समयमा निगरानी बढाएका छौँ’, उहाँले भन्नुभयो । प्रहरीले लागुऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने अनुमान गरेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया