नश्ल सुधारका लागि अनुदानमा दिइएकाे बोका काटेर मासु भाग लगाएपछि...

 साउन २४, २०७६ शुक्रबार ७:४६:५५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा - सिरानचोक गाउँपालिका–३, हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत पहिलेको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मंसिरमा बाेयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । 
   
समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । ‘स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्नेगरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो’, वडाध्यक्ष वीरबहादुर गुरुङले भन्नुभयो । 

उहाँले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताउनुभयो । ‘प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभैँसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ’,वडाध्यक्ष गुरुङले भन्नुभयाे ।
   
वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट १४ हजार ४०० रुपैयाँ जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दावी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान बाबु मास्केले झण्डै ३२ हजार रुपैयाँ तिरेर नश्ल सुधारका लागि गुल्मी र अर्घाखाँचीबाट बाेका ल्याइएको र त्याे बोका काट्नु गलत भएको बताउनुभयो ।

वडाध्यक्ष वीरबहादुर गुरुङ

‘३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ’, उहाँले भन्नुभयो,‘पाल्न नसक्ने भए पनि हामी अर्काे किसानलाई वितरण गथ्र्यौं, उनीहरुले हामीलाई खबर पनि गरेनन् ”  रेडक्रसले पहिलेकाे हर्मी गाविका नौ वटै वडामा नश्ल सुधारका लागि भन्दै बाेयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया