ग्राहकले सुन किन्ने आँट गर्नै छोडे

 साउन २४, २०७६ शुक्रबार ८:३७:५ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – बिहीबार विशालबजारमा सुन किन्न पुग्नुभएकी बालाजुकी सरिता थापा भाउ सुनेर झसङ्ग हुनुभयो । भाउ सुनेपछि उहाँले तत्काल सुन किन्ने आँट गर्न सक्नुभएन । ‘अझै केही दिन कुरौँ, भाउ घटेपछि किनौँला’ भन्दै उहाँ सुन पसलबाट फर्कनुभयो । 

सुन किन्नै भनेर पसल पुगेका गोङ्गबुका कृष्णमान डंगोल पनि अलमलमा पर्नुभयो । तत्काल सुन किन्न उहाँलाई पनि आँट आएन । 

दिनहुँजसो भाउ बढेपछि सुन किन्न खोज्ने धेरै ग्राहकको हालत यस्तै छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटबढ हुँदै आएको सुनको भाउ अघिल्लो हप्ता शुक्रबारदेखि लगातार बढिरहेको छ । शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन भाउ त्यसपछि बढेको बढ्यै छ । 

आइतबार ५ सयले बढ्दै सुनको भाउ प्रति तोला ६६ हजार ३ सय रुपैयाँ पुग्यो । सोमबार तोलाको ६७ हजार ८ सय र मंगलबार तोलाको ६८ हजार रुपैयाँ भयो । बुधबार तोलामा १५ सयले बढेर सुनको भाउ ६९ हजार ५ सय रुपैयाँ पुग्यो । बिहीबार पनि भाउ बढेर तोलाको ७० हजार रुपैयाँ भएको छ ।

अहिलेको अवस्था र अनतर्राष्ट्रिय गतिविधिलाई हेर्दा सुनको मूल्य अझ बढ्न सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनसँगै चाँदीको भाउ पनि बढिरहेको छ ।

लगातार भाउ बढ्दा बजारमा सुन बजारमा चहलपहल घटेको छ । पशुपति ज्वेलर्सका सञ्चालक अशोक कुमारले सुनको भाउ आकाशिएसँगै कारोबार ठप्पजस्तै भएको बताउनु भयो । ‘गएको ३ महिनादेखि कारोबारमा धेरै गिरावट आएको छ’ उहाँले भन्नुभयो, ‘तीन महिना अघिसम्म त कारोबार ठिक नै थियो । भाउ बढेर कहाँ पुगिसक्यो, अब कसले किन्छ र ?’ 

गणपति ज्वेलर्सका कर्मचारी दिनेश थपलिया अन्तर्राष्ट्रिय सुनचाँदी बजारकै प्रभाव नेपाली बजारमा देखिएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुनको मूल्य आकाशिएसँगै कारोबारमा त कमी आएकै छ, यो अन्तर्राष्ट्रिय बजारको असर हो । तीज आउन झण्डै एक महिना बाँकी छ, आशा गरौँ, त्यो बेलासम्ममा सुनको मूल्य घट्छ कि !’ 

रिद्धिसिद्धि ज्वेलर्सका सेल्सम्यान राजन अधिकारी अन्तर्राष्ट्रिय बजार र अर्थव्यवस्था अस्थिर भएका कारण कारोबारमा गिरावट आएको बताउनु हुन्छ । ‘सुनको भाउ बढे पनि अत्यावश्यक भएका ग्राहकहरुले किनिरहनु भएको छ भने कतिपय ग्राहकहरु भाउ घटेपछि किनौँला भनेर कुरिरहनु भएको छ ।’

अहिले सुन किन्नेभन्दा पनि बेच्ने धेरै भएकाले यो अवस्था आएको अधिकारीले बताउनु भयो ।   

भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि व्यापारीले बैकसँग पनि सुन किन्न छाडेका छन् । दैनिक २० किलोसम्म बैँकसँग सुन किन्न पाउने व्यापारीले लगातार मूल्य आकाशिएसँगै सुनको कारोबार घटेपछि बैंकसँग किन्न छाडेका हुन् । 

भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतीय मुद्रा कमजोर भएको र त्यसको असर सुनचाँदी बजारमा देखिएको व्यापारीहरु बताउँछन् ।

यस्तै विश्व अर्थतन्त्रमा अनिश्चितता बढेसँगै सुनमा लगानी बढिरहेको छ । अमेरिका–चीनबीच व्यापार युद्धका कारण विश्वको अर्थव्यवस्थामा अनिश्चितता बढेको र यसको प्रत्यक्ष असर विश्वको सुनचाँदी बजारमा देखिएको व्यवसायीहरु बताउँछन् । अमेरिका–इरान तनाव र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउँदा सुनको मूल्य महँगो भएको उनीहरुको भनाई छ ।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी चिनियाँ सामानमा १० प्रतिशत कर बढाउँदा शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया