एसियन सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिता: नेपाली टाेलीकाे सूची सार्वजनिक

 साउन २६, २०७६ आइतबार २०:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा भदौ २ गतेदेखि ८ गतेसम्म हुन लागेको एसियन सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिताका लागि नेपाली खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमिनिस्तानको राष्ट्रिय भलिबल टिमले सहभागिता जनाउँदैछन् । नेपाली टिमको कप्तानी यस पटक पनि इम रानामगरले गर्ने छन् । उनकै नेतृत्वमा गएकाे संस्करणमा नेपालले कास्य पदक जितेको थियो ।

नेपाली भलिबलमा नेपालले जितेको अहिलेसम्मकै ठूलो पदक नै कास्य हो ।  विदेशी प्रशिक्षक ल्याएर नियमित अभ्यास गरिरहेको नेपाली टिमले यस पटक उपाधि जित्ने लक्ष्य लिएको छ । घरेलु मैदान र दर्शकको साथ पाउने भएकाले नेपाली टिमबाट आशा गर्ने ठाउँ रहेको बताइएको छ । कप्तान रानामगरले तयारीका लागि २ महिनाको समय पर्याप्त नभए पनि नेपालमै प्रतियोगिता हुँदा घरेलु कोर्ट अलि सहज हुने सुनाए । एभीसी सेन्ट्रल जोनका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेलका लागि पनि तयारी गरेको थियो ।

तर अन्तिम समयमा भारतीय टिम नेपाल आउन पाएन र प्रतियोगिता भएन । त्यसपछि एकै पटक प्रतियोगिता खेल्नु पर्ने बाध्यता आइपरेको थियो । नेपाल भलिबल संघको पहलमा एभीसी सेन्ट्रल जोनमै रहेको अफगानिस्तानलाई प्रतियोगिता सुरु हुनुअगाडि नै काठमाण्डौ बोलाएर २ वटा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । त्यसका लागि अफगान टिम मंगलबार काठमाण्डौ आइपुग्ने छ ।

तयारीका हिसाबले नेपाली टिमले राम्रो गरेको बताउने कप्तान रानामगरले विगतमा पनि यस्तै १–२ महिना मात्रै अभ्यास गरेर खेल्नु जानु पर्ने गरेको स्मरण गरे । उनले भने, ‘हामीले मैत्रीपूर्ण खेल खेल्न पाएनौँ त्यसले गर्दा पनि एकैचोटि खेल खेल्न जाँदा गाह्रो अवश्य होला । तयारी पहिले पनि यस्तै नै हो । तर अहिले चै हाम्रो घरेलू मैदानमै प्रतियोगिता भएकाले अझ मेहिनत गर्नुपर्नेछ ।’

बंग्लादेश, किर्गिस्तान, उज्वेकिस्तान अलि राम्रो टोली हो र यो प्रतियोगिताको लागि तयारी पनि गरिरहेका छन् । धेरै भन्दा धेरै खेल पनि खेलेकाले आसन्न प्रतियोगिता धेरै नै ‘टफ’ हुने उल्लेख गरे ।

नेपाली टिममा रानामगर र हरि हजुर थापाले सेटरमा खेल्ने छन् । यसैगरी लिब्रोमा ईश्वर थापा मगर र विनोद बहादुर चन्द रहेका छन् । यसैगरी जोन २ मा नरेन्द्र गिरि, विशाल विक, राजकुमार निरौला जोन ३ मा हरि अधिकारी, दुर्गाबहादुर खड्का र दीपकराज जोशी छन् । त्यस्तै जोन ४ बाट धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा र टेकराज अवस्थीले खेल्ने छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया