१२ औँ 'साग' अन्तर्गत शारीरिक सुगठनमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान

 साउन २७, २०७६ सोमबार १८:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद 'साग' अन्तर्गत शारीरिक सुगठनमा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । 

नेपाल शारीरिक सुगठन संघले काठमाण्डौमा सोमबार विशेष कार्यक्रमकाबीच १६ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । १२ औं सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ५० हजार रुपैयाँ, रजत पदक जित्नेलाई ३० हजार रुपैयाँ र काँस्य पदक जित्नेलाई २० हजार रुपैयाँ प्रदान गरिएको हो । 

सागमा स्वर्ण पदक जित्दै ५० हजार रुपैयाँ प्राप्त गर्ने खेलाडीमा समिर श्रेष्ठ, नरेश मालाकर र मालिका शाक्य रहेका छन् । त्यसैगरी सागमा रजत पदक जित्दै ३० हजारसहित सम्मानित हुनेमा कमल भण्डारी, रमेश कार्की, निशान्त प्रधान, राजु राई, प्रमोद राई, रजनी श्रेष्ठ र पूजा श्रेष्ठ रहेका छन् । 

यस्तै सागमा काँस्य पदक हात पार्ने कृष्ण दास दिवाकर, प्रज्वलमान शाक्य, अशोक महर्जन, मिलन सिजापती, कृष्ण महर्जन र सुजिता मानन्धरलाई २० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । 

नेपाल शारीरिक सुगठन संधका अध्यक्ष राजेशबाबु श्रेष्ठले खेलाडीहरुलाई नगद प्राप्त गर्दा भन्दा पनि देशको नाम राख्न सफल भएकोमा खुशी हुन आग्रह गर्नु भएको थियो । 

यही सम्मान कार्यक्रमको अवसरमा थाईल्यान्डमा हुने एसिया प्यासेफिक च्याम्पियनसिपमा सहभागी हुन जाने चार जनालाई बिदाइ गरिएको छ । 

प्रतियोगितामा समिर श्रेष्ठले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दा मालिका शाक्यले वुमेन फिजिक्स र राजु राईले मेन्स फिटनेस फिजिकमा प्रतिस्पर्धा गर्ने छन् । उनीहरुसँग अफिसियलको रुपमा दिनेश राजभण्डारी पनि थाइल्याण्ड जानु हुनेछ । प्रतियोगिता साउन ३१ देखि भदौ १ गतेसम्म हुँदैछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया