कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बर्दिया देशभरमै पहिलो

 साउन २९, २०७६ बुधबार २०:३२:३ | भावुक योगी
unn.prixa.net

बर्दिया - अघिल्लाे वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा देशभरका ७७ जिल्ल्लामध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको छ । 

अर्थिक वर्ष २०७५-०७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्ला मध्ये नेपाल सरकार गृह मन्त्रालयको मुल्याङ्कनमा जिल्ला प्रहरी सहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले उज्यालोलाई जानकारी दिनुभयो ।

बर्दियाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद\ व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयाे । 

झण्डै १४ महिना अघि बर्दिया आउनुभएका कुरुम्वाङ्गले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताउनु भएको छ । 

बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकोमा गौरवान्वित भएको समेत उहाँले बताउनुभयो । बर्दियाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्वाङ ‘इन्टिग्रिटी आइडल २०१८ बाट ६ महिना अघि विजेता हुनुभएको थियो । 

रामबहादुर कुरुम्वाङ्ग - प्रमुख जिल्ला अधिकारी, बर्दिया

बर्दियाका प्रजिअ कुरुम्वाङले आफूमा नागरिकप्रति अझै बढी जिम्मेवारी थपिएको बताउँदै यस प्रकारको सम्मानले नागरिकको हितमा काम गर्ने हौसला मिलेसँगै काँधमा जिम्मेवारीसमेत थपिएकाले अझै गम्भीर भएर नागरिककै हितका लागि काम गर्नुपर्ने अवसर मिलेको बताउनुभयो ।

जनताको घरदैलोमा सरकारी सेवा पुर्याएर चर्चामा आएका निडर तथा जनताप्रति जवाफदेही र भ्रष्टाचार विरोधीका रुपमा चिनिएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ तेह्रथुम जिल्लाकाे फेदाप गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ । स्नातकाेत्तर पास गर्नुभएका कुरुम्वाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभएको हो । 

त्यसपछि २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लेफ्टिनेन्टमा नाम निकालेपछि २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लप्टनमा जागिरे हुनुभयो । कुरुम्वाङले नेपाली सेनाको जागिर पनि छोडेर फेरि २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव हुनुभएको हाे । 

नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टबाट जागिर जाडेर २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा देशका विभिन्न ९ वटा जिल्लामा काम गरिसक्नुभएका कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टाचार विरोधी, जनप्रिय प्रशासक भनेर पनि चिनिनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया