एभीसी सेन्ट्रल जोन भलिबल प्रतियाेगिताका लागि माल्दिभ्स र बंगलादेशका टाेली काठमाण्डाैमा

 साउन ३१, २०७६ शुक्रबार १४:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन माल्दिभ्स र बंगलादेशको राष्ट्रिय टोली शनिबार नेपाल आइ पुगेको छ ।

माल्दिभ्सको टिम शुक्रबार बिहान तथा बंगलादेशी टोली अपरान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै बंगलादेशी प्रशिक्षक सइद लतिफले च्याम्पियन बन्ने लक्ष्य लिएर नेपाल आएको प्रतिक्रिया दिए ।

‘प्रतियोगितामा सहभागिता जनाउने सबै टिमको लक्ष्य च्याम्पियन बन्ने नै हो,’ बंगलादेशलाई चार वर्षदेखि प्रशिक्षण दिइरहेका इरानी प्रशिक्षक लतिफले भने ।

बंगलादेशले यो प्रतियोगिताका लागि एक महिनामात्र तयारी गरेको छ । युवा खेलाडीको वर्चश्व रहेकाे बंगाली टिमका कप्तान हर्षित विश्वासले युवा खेलाडीका कारण आफ्नो टिमको प्रदर्शन राम्रो हुने प्रतिक्रिया दिए ।

उनले बंगलादेशलाई प्रतियोगिता खेल्न निमन्त्रणा दिएकोमा नेपाल भलिबल संघप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितामा तुर्कमेनिस्तान र नेपाललाई दावेदारको रुपमा हेरे पनि बंगलादेशी टिमको प्रदर्शन पनि उच्च रहेको प्रतिक्रिया दिए ।

किर्गिस्तान र तुर्कमेनिस्तान भने शुक्रबार राति र उज्बेकिस्तान भने शनिबार मात्र आउनेछन् । प्रतियोगिता अघि अभ्यास खेल खेल्न अफगानिस्तान भने मंगलबारनै नेपाल आएको थियो ।

भदौ २ देखि चल्ने प्रतियोगिताका खेलहरु लगनखेलमा रहेकाे सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया