मिस्बाह उल हक अब प्रशिक्षक र खेलाडी छनोट समितिका संयोजक पनि

 साउन ३१, २०७६ शुक्रबार १८:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान मिस्बाह उल हक दोहोरो भूमिकामा देखिने भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले अपनाएको नयाँ मोडल अनुसार पूर्व कप्तान मिस्बाह उल हक प्रशिक्षक र खेलाडी छनोट समितिका संयोजक दुवै भूमिकामा देखिने भएका हुन् । उनलाई पीसीबीले तत्कालका लागि २२ अगस्ट देखि सेप्टेम्बरसम्म चल्ने अभ्यास सत्रका लागि ‘क्याम्प कमान्डेन्ट’ नियुक्त गरेको छ । उनले नै अभ्यासका लागि खेलाडी चयन गरेका छन् भने उनीहरुलाई प्रशिक्षण पनि दिनेछन् ।

पीसीबीका अन्तर्राष्ट्रिय क्रिकेट निर्देशक जाकिर खानले बोर्डमा सिनियर टिम चयनका लागि बनाउने समिति तीनथरी मोडेलको रहेको र त्यसमा छलफल भइरहेको बताएका थिए ।

पहिलो मोडेल भनेको छनोट समितिको संयोजक र अरु तीन चार जना सदस्य राखेर काम गर्ने । दोस्रो मोडेल भनेको एक जना संयोजक र पाकिस्तानका ६ वटा राज्यस्तरीय टिमका मुख्य प्रशिक्षकलाई सदस्य बनाएर खेलाडी छनोट गर्ने । तेस्रो मोडेल भनेको एक जना व्यक्तिलाई छान्ने र त्यसैले मुख्य प्रशिक्षक र खेलाडी छनोट समितिको संयोजक बनाउने ।

पीसीबी स्रोतका अनुसार अहिले त्यहाँ तेस्रो मोडेल अनुसार मिस्बाह उल हकलाई यो जिम्मेवारी दिएको छ ।

हालै इंग्ल्याण्ड विश्वकपको समूहचरणबाटै पाकिस्तान आउट भएपछि मुख्य प्रशिक्षक मिकी आर्थर, बलिङ प्रशिक्षक अजहर महमूद र ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरको कार्यकाल विस्तार नगर्ने पीसीबीले प्रष्ट पारेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया