भारतीय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा पुन: रवि शास्त्री नियुक्त

 साउन ३१, २०७६ शुक्रबार १८:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि रवि शास्त्री नै पुनः नियक्त भएका छन् ।

आईसीसी विश्वकपपछि कार्यकाल सकिने भए पनि जारी वेस्ट इण्डिज सिरिजका कारण उनको कार्यकाल ४५ दिन थप गरिएको थियो । त्यसपछि नयाँ प्रशिक्षकका लागि आवेदन खुला गरिएकोमा शास्त्रीसहित ६ जनाको नाम छनोट समितिले शर्ट लिस्ट गरेको थियो ।

६ जनामध्ये वेस्ट इण्डिजका फिल सिमन्सले नाम फिर्ता लिएपछि मुम्बईमा शुक्रबार ५ जनाको अन्तर्वार्ता लिइएको हो । जसमा शास्त्रीको अन्तर्वार्ता भने भारतीय टिमसँग वेस्ट इण्डिजमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत लिइएको थियो ।

रेसमा रहेका पाँच जना प्रशिक्षकका उम्मेदवारमा रवि शास्त्री सबैभन्दा अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए । शास्त्रीको कार्यकाल २०२१ मा भारतमा हुने टी-२० विश्वकपसम्म रहने छ ।

वेस्ट इण्डिज जानुपूर्व पनि कप्तान कोहलीले पत्रकार सम्मेलनमा रवि शास्त्रीसँग टिमको तालमेल राम्रो रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले यो पनि भनेका थिए की ‘शास्त्री फेरि पनि प्रशिक्षकमा नियुक्त भए हामी सबै खुशी हुने छौं ।’

शास्त्री २०१७ मा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए । उनको रेकर्ड भने राम्रो रहेको छ । यो २ वर्षमा भारतले अस्ट्रेलियामा पहिलो पटक सिरिज जित्न सफल भयो ।

२०१७ मा भएको  २१ टेस्टमध्ये भारतले १३ वटामा जित निकाल्न सफल भयो । टी २० मा पनि ३६ मा २५ मा जित निकाल्न सफल भएको थियो । एक दिवसीय क्रिकेटको कुरा गर्ने हो भने ६० वटामा ४३ वटामा जित निकालेको थियो ।

तर विश्वकप २०१९ मा भने भारतीय टिम सेमिफाइनल भन्दा अगाडी जान सकेन् । अहिले अतिरिक्त कार्यकालमा पनि भारतीय टिमले वेस्टइण्डिजमा टी २० र एक दिवसीय सिरिज जितिसकेको छ ।

रवि शास्त्री भारतीय टिमका कप्तान कोहलीका मात्र फेबरेट पात्र होइनन् । अरु खेलाडीहरुले पनि उनलाई उत्तिकै सम्मान र माया गर्छन् भने तालमेल पनि राम्रो मिल्ने गरेको बताउँछन् ।

शास्त्रीको उप कप्तान रोहित शर्मा र पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग पनि शास्त्रको सम्बन्ध सुमधुर रहेको छ । शास्त्रीको पक्षमा खुलेआम पूर्व खेलाडीहरु लागेका थिए । पूर्व कप्तान सौरभ गांगुली र अजहरुदीनले कप्तान कोहलीको भनाइलाई समर्थन गर्दै शास्त्रीलाई प्रशिक्षक बनाउनु पर्नेमा जोड दिएका थिए ।

वेस्ट इण्डिजका पूर्व प्रशिक्षक समेत रहेका फिल सिमन्सले वर्तमान प्रशिक्षक रवि शास्त्री नै अगाडि रहेको थाहा पाएपछि यसअघि नै अन्तर्वार्तामा सहभागी नहुने निर्णय गरेका थिए ।

त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह भारतीय क्रिकेटको नयाँ प्रशिक्षकको दौडमा थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया