फिनल्याण्ड: काम गर्नकाे लागि न अफिस जान जरुरी छ न त ताेकिएकाे समय नै !

 साउन ३२, २०७६ शनिबार २०:२८:२२ | एजेन्सी

सुन्दा अचम्म लाग्न सक्छ, विश्वमा यस्तो देश पनि छ, जहाँ काम गर्नकै लागि अफिस जानु पर्दैन । 

हो, फिनल्याण्डमा काम पूरा गर्नको लागि न कार्यालय जान जरुरी छ, न त तय गरिएको समयमा नै काम सुरु गर्नुपर्छ । काम चाहिँ हुनैपर्छ, तपाईँ जहाँ भए पनि । 
मिका हर्कननलाई फिनल्याण्डको राजधानी हेलसिन्कीको ठण्डी मौसमले निकै सताएको थियो, त्यसैले उनले ६ महिनासम्म स्पेनमा रहेर काम गरे । उनकी पत्नी केही समय पहिले आमा बनेकी थिइन् र उनी छुट्टीमा बसेकी थिइन् । 

हर्कननले स्पेनको मलागामा भाडामा घर लिएर त्यहीँबाट आईटी कम्पनीमा सिनियर टिम म्यानेजरको नोकरी गर्दै परिवारलाई समय पनि दिए । उनको काममा आफ्नो टिमका २० जना सदस्यलाई व्यवस्थापन पनि गर्नुपर्ने हुन्थ्यो । अहिले उनी हेलसिन्की फर्किसकेका छन् । उनले आफ्नो समय सोचेकोभन्दा पनि राम्रोसँग बितेको बताए । 

हर्कनन अनलाइन म्यासेजिंग टूल स्लेक र भिडियो कन्फ्रेन्सको माध्यमबाट आफ्ना सहकर्मीसँग सम्पर्क गर्दथे । बीचबीचमा उनी फिनल्याण्ड पनि आउने गर्दथे । उनको तालिका अफिसको घडीको घण्टा वा मिनेटमा बाँधिएको थिएन, फेरि पनि उनी महत्वपूर्ण बैठकमा फोनमा सम्पर्क गर्दथे । 

हर्कनन आफ्नो आईटी कम्पनी एम्बिसियाका पहिला कर्मचारी हुन्, जसले यति टाढा रहेर पनि नोकरी गर्ने इजाजत पाए । तर यो कम्पनीले काममा लचिलोपनालाई निकै पहिलेदेखि नै अभ्यास गरेको थियो । 

जताबाट पायक गर्छ, त्यताबाटै काम गर्नुहोस् 

एम्बिसिया मा २०० जना कर्मचारी थिए । १५ वर्षअघि यो कम्पनीले सानो क्षेत्रीय कार्यालय खोल्यो किनकि उसका कर्मचारीलाई हेलन्सिकीसम्म आउन जानका लागि समय न गुमाउन परोस् । 

दक्षता र रचनात्मकता बढाउनका लागि कम्पनीले आफ्ना कर्मचारीलाई टाढा नै बसेर पनि काम गर्ने छुट दियो । 

फिनल्याण्डको जनसंख्या ५५ लाखको आसपास छ । यो यूरोपको ठूलो टेक्नोलोजी हब पनि हो, जसले नोकियाको उतारचढावपूर्ण इतिहास देखेको छ । 
फिनल्याण्डमा ठूला आईटी कम्पनी, खेलप्रधान स्टार्ट–अप र डिजिटल वित्तीय सेवा दिने कम्पनीहरु छन् । 

एम्बिसियाकी मानव संशासन व्यवस्थापक जेनी फ्रेडरिक्सन बास भन्छिन्, ‘सबै मानिसहरु ठूला शहरको भिडभाडमा रहन चाहँदैनन्, उनीहरु जहाँ बसेर पनि काम गर्न सक्छन्। 

घण्टा समायोजनको अधिकार 

कर्मचारीहरुको आवश्यकतालाई समायोजन गर्न फिनल्याण्डका सबै कम्पनी एम्बिसियाजस्तो तयार छैनन् । 

तर कामको घण्टा समायोजन गर्नु फिनल्याण्डमा पछिल्लो दुई दशकदेखि बढ्दो क्रममा छ । अरु देशमा आज पनि यसलाई अधिकारको साटो अतिरिक्त सुविधाको रुपमा लिइन्छ । 

फिनल्याण्डले सन् १९९६ मा वर्किंग आवर्स एक्ट बनाएको थियो । यो एक्ट अनुसार कर्मचारीहरुले काम सुरु गर्ने समाप्त गर्ने समय आफ्नो हिसाब अनुसार ३ घण्टा अघि या पछि समायोजन गर्न सक्छन् ।’

यसरी सन् २०११ सम्ममा फिनल्याण्ड कामको घण्टा समायोजन गर्ने विषयमा अब्बल देश बनेको थियो । 

वैश्विक लेखा कम्पनी ग्रान्ट थ्रन्टनको एक अध्ययनका अनुसार फिनल्याण्डको ९२ प्रतिशत कम्पनीहरु कर्मचारीहरुलाई कामको घण्टा समायोजन गर्ने अनुमति दिन्छन् । 

त्यस्तै बेलायतमा ७६ प्रतिशत कम्पनी, रुसमा ५० प्रतिशत कम्पनी र जापानमा मात्र १८ प्रतिशत कम्पनी कर्मचारीहरुलाई यस्तो स्वीकृति दिन्छन् । ठूला वैश्विक कम्पनीहरुले यो अवधारणालाई अपनाएका छन् । अष्ट्रेलिया र बेलायतले पनि यसलाई कानुन बनाएका छन् तर फिनल्याण्ड सबैभन्दा अघि छ । 

नयाँ कानुन

सन् २०२० मा नयाँ वर्किंग आवर्स एक्ट प्रभावकारी हुनेछ । यो कानूनले पूर्णकालीन कर्मचारीलाई कम्तीमा आफ्नो आधा काम कहिले गर्ने भन्ने तय गर्ने अधिकार दिन्छ । 

फिनल्याण्डको पर्यावरण मन्त्रालयकी सल्लाहकार तथा वरिष्ठ अधिकारी तार्जा क्रोगर भन्छिन्, ‘यसको मतलब आधुनिक विश्वलाई आत्मसात गर्नु हो ।’ 

नयाँ कानूनका अनुसार कर्मचारीहरुले हप्तामा औसत ४० घण्टा काम गर्नुपर्ने हुन्छ तर काम गर्ने स्थान र काम सुरु गर्ने समय आफैँले तय गर्न सक्नेछन् । 
घरमा आफ्नो बच्चा सम्हाल्ने जिम्मेवारी होस् या साँझ कसरत गर्नका लागि समय निकाल्ने हो भने बिहान आफ्नो काम छिट्टै सुरु गर्न सक्नुहुन्छ । 

केही युवाहरु धेरै घण्टासम्म काम गर्न सक्छन् किनकि उनीहरु भ्रमणका लागि आफ्नो खातामा समय जम्मा गर्न सक्छन् । 

वाइफाइ र क्लाउडमा आधारित प्रविधिको व्यापक उपलब्धताले कानुन बदल्न पनि माग गरिरहेको छ । क्रोगर भन्छिन्, ‘कैयाैँ पेसामा कर्मचारीहरु टाढा बसेर पनि कार्यालयमा जसरी नै काम गर्न सम्भव भएको छ ।’

यसो गर्दा कम्पनीलाई पनि फाइदा छ, कर्मचारीको दक्षता र उत्पादकत्व बढ्ने गर्दछ । 

विश्वासको संस्कृति

फिनल्याण्डका मानिसहरु काममा लचिलोपनाको सफलताको पछाडि विश्वासको संस्कृतिलाई मान्छन् । यहाँका मानिसहरु एकअर्कामा निकै भरोसा गर्छन्, यति त यूरोपको कुनै पनि देशले एकअर्कालाई विश्वास देखाउँदैन । 

हेलसिन्कीबाट १० किलोमिटर टाढा अल्टो युनिभर्सिटी स्कूल अफ् बिजनेसमा संगठन र प्रबन्धनका प्रोफेसर ईरो वारा यसको श्रेय समानता र वित्तीय सुरक्षाको मोडललाई दिन्छन् । 

काम र विश्वासको संस्कृति    

फिनल्याण्डका मानिसहरु काम र जिन्दगीबीचकाे सन्तुलनमा पहिलेदेखि नै ध्यान दिँदै आइरहेका छन् । यसैको कारणले पनि यहाँका कम्पनी पनि कामको घण्टा समायोजन गर्न तयार छन् । 

फिनल्याण्डमा मात्र ४ प्रतिशत कर्मचारी नियमित रुपमा हप्तामा ५० घण्टा या धेरै काम गर्छन् । यो पश्चिमी देशका अन्य देशका तुलनामा निकै कम हो । 
फिनल्याण्डका मानिसहरु यूरोपका कुनै देशका मानिसहरुभन्दा धेरै कसरत गर्छन् । मौसम प्रतिकुल भए पनि उनीहरु घर बाहिर निस्किन मन पराउँछन् । 

सहयोग र सञ्चार 

स्क्यान्डिनेभियाका मानिसहरु सहयोग र आम सहमतिबाट निर्णय लिने गर्छन् । विश्वभर भएको शाेधमा पनि अनियमित घण्टामा काम गर्ने मानिसहरु निर्धारित घण्टामा काम गर्नेको तुलनामा अधिक समयसम्म काममा लागिरहन्छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया