४ सय विदेशी सहभागी सम्मेलनमा प्रधानमन्त्री ओली एक घण्टा ढिला, विषय बाहिरको भाषणमै आधा घण्टा !

 भदौ २, २०७६ सोमबार १५:०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकको सम्मेलनको उद्घाटन बिहान ९ बजे हुने कार्यक्रम थियो ।

बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्ने भनेर एसिया प्रशान्त क्षेत्रका ४३ देशका झण्डै ४ सय जना पाहुनालाई ८ बजे नै सोल्टी क्राउन प्लाजा पुगिसक्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको थियो ।

पाहुनाहरु ८ बजे नै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतीक्षा गरिरहेका थिए । तर ९ बज्यो प्रधानमन्त्री पुग्नुभएन । केहीबेर कार्यक्रम सञ्चालिकाले नेपालको धार्मिक, सांस्कृतिक विविधता र यहाँका पर्यटकीय क्षेत्रको बारेमा वर्णन गरेर विदेशीलाई भुलाउने कोसिस गर्नुभयो ।

१० मिनेट बितिसक्दा नै  विदेशीहरु प्रधानमन्त्री किन नआएका होलान् भनेर खासखुस गर्न सुरु गरिसकेका थिए । तर ९ बजेर २०  मिनेट जाँदा पनि प्रधानमन्त्री कार्यक्रमस्थल पुग्नुभएन । त्यसपछि नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० को लागि तयार पारेका भिडियो पाहुनालाई देखाइयो । ४ वटा भिडियो देखाइसक्दा पनि प्रधानमन्त्री पुग्नुभएन ।

नेपालको नागरिक उड्डयनको क्षेत्र यसै पनि कमजोर रहेको भन्दै आलोचना भैरहेको छ । ढिलासुस्ती र लापर्वाही गरेको भन्दै युरोपियन युनियनले त नेपालका जहाजलाई कालो सूचीमा नै राखेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन  काउन्सिलका अध्यक्षसहितका  ४३ देशका हवाई महानिदेशकको भेलामा नै  प्रधानमन्त्री  समयमा पुग्नुभएन ।

धेरैजसो पाहुनाहरु हाई काढ्दै बसेका थिए । केही पाहुना भने कार्यक्रमस्थलमा मोबाइल चलाएर बसेका थिए, केही भने कार्यक्रमस्थलको भित्र र बाहिर गरिरहेका थिए ।

कार्यक्रम साह्रै खल्लो देखिन्थ्यो । ९ बजे पुग्नुपर्ने प्रधानमन्त्री ९ बजेर ५५ मिनेटमा मात्रै कार्यक्रमस्थल पुग्नुभयो । बाजागाजा र दर्जनौँ सुरक्षाकर्मीको बीचमा सम्मेलन हुने हलमा पुगेका प्रधानमन्त्रीका बारेमा पाहुनाले खासखुस गरिरहेका थिए ।

त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रममा केही झाँकी प्रस्तुत गरियो । त्यसपछि आईकाओको एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक  अरुण मिश्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, आईकाओका काउन्सिल अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियुले मन्तव्य राख्नुभयो ।

त्यसपछि मन्तव्यको पालो आयो प्रधानमन्त्री केपी शर्मा ओलीको  । नेपालको हवाई क्षेत्रले गरेका सुधार, युरोपेली युनियनले नेपाली हवाई क्षेत्रलाई कालो सूचीमा राखेको, नेपालले गरेका सुधारलगायतका विषयमा प्रधानमन्त्रीको मन्तव्य आउला भन्ने धेरैको अपेक्षा थियो । तर झण्डै २७ मिनेट भाषण गरेका प्रधानमन्त्री ओलीले नेपालले राजतन्त्र फालेर संघीय ढाँचामा  गएको, ७ वटा प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारले काम गरिरहेको पुराना कानुन संशोधन गरेको, यहाँ युवाको  बाहुल्यता रहेको लगायतका भाषण गर्नुभयो ।

सरकारले पछिल्ला वर्षहरुमा ७ प्रतिशतको आर्थिक वृद्धि गरेको, अहिले पनि विकास निर्माण लागेको लगायतका भाषणले कार्यक्रम खल्लो पनि भयो । यस्तै प्रधानमन्त्रीले नेपालको कला संस्कृति, यहाँका हिमाल पहाड, समुदायबीचको एकतालगायतका विषयमा पनि भाषण दिनुभयो । विषयवस्तुभन्दा बाहिर गएर प्रधानमन्त्रीले भाषण गरिरहँदा धेरैजसो पाहुना मुसुमुसु हाँसिरहेका थिए ।

प्रधानमन्त्री यत्तिमै रोकिनुभएन । उहाँले नेपालका हिमालदेखि यहाँका गैँडासम्मको चर्चा गर्नुभयो । उहाँले  भन्नुभयो, ‘हामीसँग यस्ता प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर छौँ, हामीसँग सगरमाथा छ जुन संसारमै एकमात्र हो, तर यसलाई माउन्ट एभरेष्ट भनिन्छ जसलाई सगरमाथा नै भन्नुपर्छ ।’

सगरमाथाको प्रसंगपछि उहाँले गैँडाको प्रसंग निकाल्नुभयो । उहाँले भन्नुभयो, ‘संसारमा हामीसँग मात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुने होला, गैँडाज आर गैँडाज, नट राइनोज ।’

नागरिक उड्डयन क्षेत्रको एसिया प्रशान्त क्षेत्रका महानिर्देशकको सम्मलेनमा पुगेका प्रधानमन्त्रीले नेपालको नागरिक उड्डयन क्षेत्रको बारेमा भने निक्कै कम बोल्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताउनुभयाे । नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमश: सुधार गर्दै गएको उहाँले बताउनुभयो ।

सम्मेलनमा एयर नेभिगेसन, एभिएसन सुरक्षालगायतका १२ वटा एजेण्डामा छलफल हुनेछ । सम्मेलनमा ४३ देशका २ सय ९१ प्रतिनिधिसहित ४ सयभन्दा धेरै विदेशी प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सम्मेलन पाँच दिनसम्म चल्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • TN Ghimire

    Aug. 19, 2019, 6:30 p.m.

    कार्यक्रमको विषयवस्तु बारे जानकारी राख्नुपर्यो प्रधानमन्त्री ज्यू । त्यत्रा विदेशी पाहुनाको अगाडी किन गाइजात्राको प्रहसन जसरी बोल्नु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया