पर्वत–बेनी सडक दैनिक साढे ८ घण्टा बन्द हुने

 भदौ ४, २०७६ बुधबार १२:०:५३ | दिल शिरीष
unn.prixa.net

बागलुङ – बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको छ ।

बागलुङको बाङ्गेचौरदेखि पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो ।

यही भदौ ५ गतेदेखि १३ गते सम्म बिहान ७ देखि ९ बजे र त्यस पश्चात् बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द गरेर सडक निर्माणको काममा तिव्रता दिन लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, जिल्ला प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस क्रममा पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत–जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । 

कार्यालय, विद्यालयबाट आवत–जावत गर्ने समयलाई ध्यानमा राखेर निर्माण कार्यले समेत गति लिने गरी समय तालिका तय गरिएको मेयर पौडलेले बताउनुभयो । हिमशिखर कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुंगे पुल अहिलेसम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दिल शिरीष

बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया