यू– १९ एसिया कपका लागि नेपाली टिमको घोषणा, काे–काे परे ?

 भदौ ५, २०७६ बिहिबार ११:०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । एसीसी यू–१९ एसिया कपमा पनि रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्नेछन् ।

एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गएको महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागि भएका तीन जना खेलाडी परिवर्तन भएका छन् ।

यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फर्किएका छन् । यस्तै, विशाल विक्रम केसी, तिलक भण्डारी र लोकेश बम टिमबाट बाहिरिएका छन् । नेपालले एसीसीको तयारी ढिलो गरि सुरु गरेको हुँदा एसीसीमा खेलाडीको सूची पनि केहि दिन ढिलो गरी पठाएको थियो ।

यसअघि यू १९ टिममा पर्न नसकेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, युवा स्पिनर सूर्य तामाङ र विस्फोटक ब्याट्सम्यान सन्दीप जोरालाई यसपटक टिममा राखिएको हो ।

वर्षा सिजनका कारण अभ्यासमा समस्या भएकाले टिमले तीन वटा सेलेक्सन खेल खेल्ने बताए पनि असफल भएको थियो । नेपाली टिमले करिब १० दिन अगाडि श्रीलंका गएर अभ्यास गर्ने कार्यक्रम रहेको छ । जसमा नेपालले तीन वटा अभ्यास खेल खेल्ने योजना रहेको छ ।

नेपाली टिमले अभ्यास खेलमा पाकिस्तान र अफगानिस्तानसँग खेल्न आग्रह गरेको थियो । तर अहिलेसम्म एसीसीले फाइनल स्वीकृति दिएको छैन । यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग खेल्ने छ । 

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र यूएई रहेका छन् । जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपालको दोस्रो प्रतिद्धन्द्धीका रुपमा बंगलादेश रहेको छ । बंगलादेशसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । 

समूहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम यूएईसँग १० तारिखमा खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । प्रतियोगिताको २ समूहको शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

बिहीबार घोषणा गरिएको टिम लिस्ट यस प्रकार छ ।

– कप्तान रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी ।

प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियो बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो ।

नेपाली टिम शनिबार श्रीलंका जाने छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया