ओबामा दम्पतीले गरे हलिउडमा डेब्यू

 भदौ ५, २०७६ बिहिबार १५:२२:६ | एजेन्सी
unn.prixa.net

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले हलिउडमा डेब्यू गरेका छन् । वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ मार्फत उनीहरुले हलिउडमा डेब्यू गरेको रोयटर्सले जनाएको छ ।

ओहायोमा रहेको औद्यौगिक क्षेत्रमा आधारित ‘अमेरिकन फ्याक्ट्री’ निकै नै समयसान्दर्भिक रहेको समीक्षकहरुले बताएका छन् ।

जनरल मोटर्सको प्लान्ट रहेको ठाउँमा चिनिया कम्पनी स्थापना भएको र त्यसपछिका घटनाक्रम समेटिएको वृत्तचित्र नेटफ्लिक्स र हाइअर ग्राउण्डले उत्पादन गरेको हो । हाइअर ग्राउण्ड अमेरिकाका पूर्व राष्ट्रपति र प्रथम महिला मिसेल ओबामाले गएको वर्ष मात्रै स्थापना गरेको उत्पादन कम्पनी हो ।

‘एउटा राम्रो कथाले कसैको जीवन राम्रोसँग बुझ्ने अवसर प्रदान गर्दछ । यसले तपाईँलाई साझा ठाउँ भेट्टाउन समेत सहयोग पुर्‍याउनेछ । त्यसैले मिसेल र म हाइअर ग्राउण्डमार्फत पहिलो  फिल्म ल्याएका हौँ’, अमेरिकी पूर्व राष्ट्रपति ओबामाले बुधबार ट्वीट गरेका छन् ।

वृत्तचित्रमा सन् २००८ को आर्थिक मन्दीका क्रममा ओहायोमा रहेको मोराइनमा अटो क्षेत्रबाट पलायन भएका कामदारको कथा छ । जुन कामदारलाई ६ वर्षपछि चिनियाँ कम्पनी फुयायो ग्लासले फेरि काममा राखेको थियो । मानिसहरुले अरु कसैको जीवनलाई नजिकबाटै हेरुन र बुझुन भन्ने आफूहरुले चाहेको पनि बाराक ओबामाले बताए ।

मिसेल ओबामाले फिल्मको सुरुको  कारखानामा काम गरिरहका कामदारकोदृश्यले आफूलाई निकै तानेको बताइन् । उनले आफ्नो र आफ्ना बुवाको पृष्ठभूमि पनि त्यही भएको बताइन् । वृत्तचित्र जुलिया रिचर्ट र स्टेभन बोग्नारले बनाएका हुन् ।

ओबामा दम्पतीको उत्पादन कम्पनी हाइअर ग्राउण्डको आगामी उत्पादन पुलित्जर पुरस्कार विजेता पुस्तक ‘फ्रेडरिक डग्लस : प्रोफेट अफ् फ्रीडममा’ आधारित पिरियड ड्रामामा काम गर्दैछ । डेभिड डब्ल्यू ब्लाइटको यस पुस्तकमा दास प्रथा उन्मुलन र त्यससँग सम्बन्धित कुराहरु रहेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया