श्रीमती माइत जान्छु भन्दा दिने खर्च पनि थिएन : डिठ्ठा साब

 भदौ ६, २०७६ शुक्रबार १२:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्य टेलिश्रृंखला ‘डिठ्ठा साब’ बाट दर्शक माझ परिचित भएका हास्य कलाकार हुन् किशोर भण्डारी । संघर्षपूर्ण जीवन गुजारेका भण्डारीलाई दर्शकले हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’बाट चिनेका थिए । 

पछि हर्के हल्दारबाट छुट्टिएर उनी आफैँले हास्य टेलिश्रृंखला डिठ्ठा साबको सुरुवात गरेका थिए । उनी टेलिश्रृंखलाको स्कृप्ट लेखन, निर्देशन तथा अभिनयमा समेत आफैँ सक्रिय हुने गर्थे । अहिले भने हास्य टेलिश्रृंखला ‘डिठ्ठा साब’ बन्द भइसकेको छ । यसैबीच हामीले कलाकार किशोर भण्डारी र उनकी श्रीमती लक्ष्मी भण्डारीसँग रमाइलो गफगाफ गरेका छौँ ।

बैवाहिक यात्रा कस्तो चलिरहेको छ ?

किशोर– बैवाहिक यात्रा यस्तै त हो नी हाम्रो देशको बाटो जस्तै गरी चलिरहेको छ । कहिले भत्किन्छ कहिले टालिन्छ कहिले अलि ठूलै भत्किन्छ कहीले मजाले पिच गरेको आनन्दको बाटो जसरी नै चलिरहेको छ । 

तपाईंरुको विवाह भएको कति भयो ?

किशोर– यही गएको बैशाखबाट १५ वर्ष पूरा भएर १६ वर्षमा लाग्यो ।
 
विवाह उत्सवको दिनचाहिँ के गर्ने गर्नुभएको छ ?

लक्ष्मी– त्यस्तो हाम्रो खसै केही पनि हुदैन । (हाँसो)

किशोर– यस्तो हो, त्यस्तो तडक भडक केही पनि गर्दैनौँ । विवाह हुँदाको एउटा फोटो छ । त्यो फोटो फेसबुकमा हालेर आइ लभ यू भनेर लेख्छु । मेरो चाडैँ सुत्ने बानी छैन । 

त्यसैले उसले थाहा नपाउने गरी राती १२ बजे फोटो हाल्छु । अरु सबैले कामना गर्छन् । अनि ढिला सुतेकोले ढिलो नै उठ्छु । उनले बिहान थाहा पाउँछिन् अनि आएर ह्याप्पी एनिभर्सरी बुढा भन्छिन् । म पनि सेम टु यू बुढी भन्छु त्यही हो । 

कहिलेकाहीँ एनिभर्सरीमा श्रीमानले सरप्राइज दिए हुन्थ्यो जस्तो लाग्दैन ?

लक्ष्मी– पहिलादेखि नै त्यो बानी नभएर पनि होला मलाई खासै त्यस्तो कहीले पनि लागेन ।
 
तपाईंहरुको पहिलो भेट कसरी भयो ?

किशोर– हाम्रो मागी विवाह हो । घरमा बिवाहको कुरा चल्यो । आफ्नै रिलेटिभमार्फत सिफारिस भएको थियो । म हेर्न गएँ । त्यो नै हाम्रो पहिलो भेट हो । मैले उनलाई हेरेँ । पहिलो पटक हेर्दा मलाई उनको कपाल खुब मन पर्यो । कुर्ता सुरुवाल लगाएकी थिइन् । यस्तै नै भयो हाम्रो पहिलो भेट ।

तपाईंलाईचाहिँ दाइलाई भेट्दा कस्तो लागेको थियो ?

लक्ष्मी– त्यसै पनि महिलालाई यस्तो कुरामा एकदमै लाज लाग्ने हुन्छ । म पनि एकदमै लाजाएको थिएँ । उहाँ मलाई हेर्न खोज्नुहुन्थ्यो म भाग्थेँ । मैले त उहाँलाई पहिलोपटक राम्रो सँग हेर्दै हेरिनँ । म विवाहको लागि तयार भएको थिइनँ । घर परिवारले अब विवाह गर्नुपर्छ भनेर कर गरेपछि मात्र म तयार भएको थिएँ ।

पहिलो भेटमा के–कस्ता कुरा गर्नुभयो ?

किशोर– हामीले पहिलो भेटमा केही पनि कुरा गरेनौँ । हाम्रो पहिलो कुराकानी भएको भनेको बिवाह पछि मात्र हो । त्यो पनि विवाह भएको २–३ दिन पछि उनको माइत गएपछि बल्ल थोरै थोरै कुराकानी भएको थियो । त्यो पनि राम्रो सँग हैन ।

एक अर्कासँग बोलचाल नै नभई विवाहचाहिँ कसरी गर्नुभयो ?

किशोर–  खासमा मैले पहिले नै प्रेममा धोका खाएको थिएँ । यो कुरा उनलाई पनि थाहा छ । यही कारण पनि मैले विवाह नगर्ने निर्णय लिएको थिएँ । तर, घरबाट हजुरबुवा, बुवा, आमालगायत सबैले अब विवाह गर्नुपर्छ भने कर गर्नुभयो । तर म विवाहका लागि तयार थिइनँ । किनभने म आफ्नो खुट्टामा उभिएको थिइनँ ।

अर्काको छोरी ल्याइसके पछि विभिन्न कुराहरु आइपर्छ । मैले उसलाई भौतिक कुराहरु पनि पूर्ति गर्न सक्दिन होला भन्ने डर थियो । तर सबैले कर गरेपछि म उनलाई हेर्न गएको थिएँ । र मैले हेर्न गएको बेला नै उनको परिवारलाई भनेको थिएँ मैले मेरो लागि भन्दा पनि आमाको लागि विवाह गर्दैछु भनेर ।

दाइको पहिले नै लभ परेको कुरा थाहा पाउँदा कस्तो ‘फील’ भयो ?

लक्ष्मी– सायद मैले त्यति राम्रो बुझेको पनि थिइन होला । मलाई कहिले पनि नराम्रो लागेन । अहिले पनि लाग्दैन । किनभने त्यो भुतकाल थियो र अहिले बर्तमान चलिरहेको छ ।

विवाह पछि किशोर दाईलाई तपाइँले कस्तो रुपमा पाउनुभयो ?

लक्ष्मी– मलाई त्यस्तो दु:ख कहिले पनि लागेन । किनभने उहाँले मलाई सबै कुरा भनिसक्नु भएको थियो । यदि उहाँले लुकाएर पछि मलाई थाहा भएको भए नराम्रो लाग्थ्यो होला । तर पहिले नै भनेको हुँदा त्यस्तो केही पनि लागेन ।

किशोर– अहिले जस्तो घरमा चै बस्दिन थिएँ ।  पहिलेदेखि नै म घुमन्ते थिएँ । सानैमा मामाघरमा लगेर पालेको । त्यहाँबाट फर्किएपछि ठूलोबुवाको घरमा बसेको, त्यसपछि आफ्नै तालमा हिड्न थालेँ । झन् कलाकार भइसके पछि त घर आउनुपर्छ भन्ने नै लाग्दैन थियो ।

पछि छोरा जन्मिए पछि भने म घर तिरै बस्न थालेको थिएँ । त्यसपछि म घरबाट नै आउन जान सुरु गरेको थिएँ । त्यस समय मैले उनलाई माइत जानका लागि खर्च दिन सक्ने स्थितिसमेत थिएन । तर, यो कुरा म उनलाई थाहा दिन्न थिएँ । जाहाँबाट जसरी भए पनि खोजखाज गरेर ऋण गरेर भए पनि ल्याएर जे जति सक्छु दिने गर्थेँ । यस्तोसम्म थियो कि बिहेमा जे जति कपडा हालेको थियो त्यसैले नै ५ वर्ष सम्म पुर्‍याएकी थिइन् यिनले ।

आफ्नो श्रीमान सरकारी जागिरे भइदिएहुन्थ्यो भन्ने लागेन ?

लक्ष्मी– मलाई कहिले पनि त्यस्तो लागेन । बरु यसै कलाकारिता क्षेत्रमा रहेर राम्रो गरिदिए हुन्थ्यो भन्ने सधैँ लाग्थ्यो ।

किशोर– यदी म सरकारी जागीरे भएको भए सयदै उनीसँग विवाह हुने थिएन । त्यो बेलाको समय त्यस्तै थियो । मलाई छोरी दिन अन्य सम्पन्न परिवारका मान्छेहरु आउँथे । तर त्यो समय मलाई मेरा लागि श्रीमती भन्दा पनि आमाका लागि बुहारी चाहिएको थियो । राम्रो सँग घर सम्हाल्न सक्ने मान्छे चाहिएको थियो । तर यदी म लोकसेवा दिएर खरदार भएको भए अफिस सम्हाल्न सक्ने खोज्थे होला नि त ।

श्रीमान त्यसरी बाहिर बस्दा कहाँ जानुहुन्छ, के गर्नुहुन्छ भन्ने लाग्दैन थियो तपाईंलाई ?

लक्ष्मी– त्यस्तो मलाई कहिले पनि लागेन । किनभने सबै भन्दा ठूलो कुरा भनेको विश्वास हो र वाहाँप्रति मेरो विश्वास थियो । र सम्बन्ध टिकाइ राख्नका लागि सबै भन्दा ठुलो कुरा विश्वास नै हो जस्तो लाग्छ ।

तपाईंहरु खासै घुम्न जानुहुन्न ?

किशोर– हामी घुम्न गइरहेका हुन्छौँ । तर अरु जहाँ घुम्न रुचाउछन् हामी त्यस्तो ठाँउमा जादैनाैँ । हामी विभिन्न मन्दिरहरु, विभिन्न होमस्टेहरु, चलचित्र हेर्न जान्छौँ । हामी गाडीमा भन्दा पनि बाइक मै घुम्न जान रुचाउछौँ ।

अब तपाईंलाई श्रीमानले के गर्दिए हुन्थ्यो भन्ने लाग्छ ?

लक्ष्मी– मलाई त्यस्तो केही पनि छैन । सधै भरी खुशी हुन पाइयोस्, घर परिवारको हेर चाहा गर्दिनुहोस् त्यही नै हो ।

किशोर – यिनको चाहाना के छ म भन्छु । यिनलाई केही पनि चाहाना छैन, तर यसै ठाउँमा एउटा पक्की घर बनाइदिए हुन्थ्यो भन्ने छ । त्यससँगै छोरा छोरीको इच्छा पूरा गरेर उनीहरुले चाहेको विषयमा अध्यापन गराइदिए हुन्थ्यो भन्ने छ । त्यति नै हो ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: कात्तिक १९, २०७६

तपाईको प्रतिक्रिया