आमा पुज्ने औँसीमा हुने मातातीर्थको स्नान र गोकर्णको कान्ति भैरव जात्रा

 बैशाख २६, २०८१ बुधबार ६:२७:३९ | कुमार रञ्जित
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली समाजमा 'आमा पुज्ने औँसी'का रुपमा कहलिएको वैशाख महिनाअन्तर्गत कृष्णपक्ष औँसीका दिन मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुकाे जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवकाे जात्रामा पनि हुने गरेको छ । फरक यति छ कि मातातीर्थमा आमा कीर्तिशेष भइसकेका छोरा–छोरी आफ्नी जननीको स्मरणमा स्नान र पूजा गर्न पुग्ने गरेका छन् भने गोकर्णमा बिहान सखारै आम जनसमुदायले कान्ति भैरवलाई उनकी आमाको दर्शन, परिक्रमा साथै पूजा गराउन कोसेलीसहित जात्रा गरेर पुर्‍याइने गरिएको छ ।

काठमाण्डाै उपत्यकाभित्रका विभिन्न प्राचीन बस्तीमा देखिने गरेका वैभवपूर्ण सांस्कृतिक गतिविधि इतिहासको कुनै कालखण्डमा शुरु भए पनि ती सबै समयको गतिसँगै विभिन्न समयकालमा विकसित तथा परिमार्जित हुँदै आएको स्पष्ट छ । जन्मदायी आमा पुज्ने यी दुई सांस्कृतिक परम्पराले प्राचीन नेपाल मण्डल सभ्यताको सम्वेदनशीलता र भव्यता प्रदर्शन गरिरहेको छ ।

कचौरा जस्तो काठमाण्डाै उपत्यका खाल्डोको उत्तर–पूर्वी ईशान कोणमा रहेको गोकर्ण र दक्षिण–पश्चिम नैऋत्य कोणमा रहेको मातातीर्थबीचको दूरी वर्तमान शहरी यातायातले नाप्दा एक घण्टा १२ मिनेटको रहेको देखाइएको छ । जुन काठमाण्डाैकाे शहरी क्षेत्रलाई बीचबाट आधा भाग माथिबाट तलतिर छड्के काटिएको जस्तो देखिन्छ । गोकर्ण र मातातीर्थ; यिनै दुई प्राचीन बस्तीमा चल्दै आएका सांस्कृतिक परम्पराले स्नान गर्ने, आमा पुज्ने, आमाको मुख हेर्ने, परिक्रमा गर्ने, कोसेली लाने र चढाउने जस्ता संस्कृतिको महत्ता र गौरव मूर्त र अमूर्त रुपमा, मेला वा जात्राका रुपमा बढाइरहेको छ ।

इतिहासकाले मातातीर्थलाई प्राचीन नेपालको गोपालवंशीय राजधानीका रुपमा पनि व्याख्या गरेको पाइन्छ । उता इतिहासकारकाअनुसार गोकर्णलाई लिच्छवि राजा मानदेवद्वारा स्थापित मानभवनसहितको बस्ती भन्ने गरिएको छ । वर्तमानमा मातातीर्थमा ऐतिहासिक वा पुरातात्विक दृष्टिबाट हेर्दा केही ढुङ्गे धारासहित प्राकृतिक स्रोतबाट भरिएको कुण्ड देख्न सकिन्छ । जहाँ आमाको प्रतिविम्ब देखिने कथा सुन्न पाइन्छ । अर्कोतर्फ गोकर्णबाट आमा पुज्ने औँसीको सखारै कान्ति भैरवकाे भव्य यात्रा उत्तरबाहिनीस्थित मन्दिर प्राङ्गणमा पुग्ने गरेको छ, जहाँ उनकी माताको बास रहेको विश्वास गरिन्छ ।

मातातीर्थ अहिले प्रचलित कथा अनुसारको राजकीय स्थान रहेन । त्यस्तै गोकर्णको अवस्था पनि त्यस्तो छैन । मातातीर्थमा केही ढुङ्गा र पानीको स्रोतसित जोडिएका आस्था र विश्वासको कथा मात्रै बाँकी रहेको छ भने गोकर्णमा थुप्रै पुरातात्विक साथै सांस्कृतिक अवशेष देख्न पाइन्छ । यसर्थ इतिहासविद्ले गरेका व्याख्या र जनस्तरमा सुनिएका कथामा केलाउँदा पनि प्राचीनताका दृष्टिले तुलनात्मक रुपमा मातातीर्थको प्राचीनतालाई नकार्न सकिन्न ।

मातातीर्थ मूर्त र पानी संस्कृतिसित अन्योन्याश्रित सम्बन्ध राख्ने मूर्त सम्पदा हो भने गोकर्णको जात्रा जीवन्त सांस्कृतिक पर्व हो, जुन चार दिनसम्म अर्थात् अक्षय तृतियासम्म चल्ने गरेको छ । गोकर्णको प्राचीन बस्तीबाट औँसीको दिन शुरु भए लगत्तै बढ्ने कान्ति भैरवको बासस्थलतर्फ यात्राका लागि ठूलो तयारी गरिन्छ ।

सम्बन्धित गुथियारले निराहार बसेर पकाएका भातबाट बनाइएका गजूर शैली आकृतिसहित स्थानीय ठूलो जनसमूह बाजागाजा सहित बागमती खोलो हिँडेरै तरेर परिक्रमा गर्दै उत्तरबाहिनी पुग्ने घण्टौँ लामो यात्रा अत्यन्तै भव्य हुने गरेको छ । त्यसरी दर्शन गर्न पुगेको कान्ति भैरबले आफ्नी आमाको मन्दिरसहितलाई ३२ पटक परिक्रमा गराउने दृश्य अद्भूत हुने गरेको छ ।

कान्ति भैरव काठमाण्डाै उपत्यकाको ईशान कोणमा विराजमान कान्ति भैरव त्यस भेगकै प्रमुख शक्तिशाली रक्षक देव मानिन्छ । गोकर्ण लगायत त्यस भेगका गोकर्णेश्वर र कागेश्वर–मनहरा नगरपालिका क्षेत्रका अधिकांश पुराना तथा नयाँ बस्तीमा समेत कान्ति भैरवलाई नै केन्द्रीत गर्दै स्थानीय अन्य देवीदेवताको पूजा अर्चना साथै जात्रा परम्परा चलाइँदै आएको छ । जस्तो गोकर्णमा पकना गणेश र गुप्त गणेशकाे पनि जात्रा कान्ति भैरवसँगै हुने गरेको छ । त्यसबाट जनस्तरमा आमा पुज्ने औँसीमा मातातीर्थ स्नानदेखि गोकर्णमा कान्ति भैरवको माता दर्शन र परिक्रमाको महत्व विशेष रहेको प्रष्टिन्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया