विश्वलाई २० प्रतिशत अक्सिजन दिने अमेजनको ४७ हजार वर्ग किमी जंगल आगलागीबाट नष्ट

 भदौ ६, २०७६ शुक्रबार १९:१०:३७ | एजेन्सी
unn.prixa.net

झण्डै तीन हप्तादेखि अमेजन नदीको वर्षा जंगलमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म ४७ हजार वर्ग किमी जंगल जलेर नष्ट भैसकेको छ । 

झण्डै ५५ लाख वर्ग किमीमा फैलिएको अमेजनको जंगललाई ‘धरतीको मुटु’ मानिन्छ । यही जंगलबाट विश्वलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन प्राप्त हुन्छ ।उता आगलागीको लागि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले पर्यावरण संरक्षणमा काम गरिरहेको गैर सरकारी संस्थामाथि आरोप लगाएका छन् भने पर्यावरणविद्हरुले भने राष्ट्रपतिको नीतिको आलोचना गरेका छन् । 

ब्राजिलको राष्ट्रिय अन्तरिक्ष शोध संस्था (आईएनपीई) का अनुसार गएको जनवरीदेखि अहिलेसम्म जंगलमा आगलागी भएका ७४ हजारभन्दा बढी मामिला दर्ता भएका छन् । सन् २०१८ को पुरै महिनामा ३९ हजार आगलागीका घटना दर्ता भएका थिए । आगोको कहर पूरै देशमा देखिएको छ । 

अमेजन नदीको जंगलदेखि झण्डै ३२०० किमी टाढा रहेको ब्राजिलको साओ पाउलोमा पनि दिउँसोको समय सूर्य देखिएको छैन । धुँवाको कारणले पुरै अँध्यारो छाएको छ । 

अमेजनको वर्षा वन किन महत्वपूर्ण छ ?    

विश्वको एक तिहाइ मुख्य वन यहाँ रहेको छ, जसले हरेक वर्ष ९० देखि १४० अर्ब टन कार्बन सोस्ने गर्दछ । जसका कारण ग्लोबल वार्मिंग रोक्न मद्दत पुगिरहेको छ । 

यो  जंगलमा ३० हजार प्रजातिका वृक्ष, २५ सय  प्रकारका माछा, १५ सय प्रकारका चराचुरुङ्गी, ५ सय प्रकारका स्तनधारी, ५५० प्रकारका सरीसृप र २५ लाखभन्दा बढी प्रकारका किराहरु रहेका छन् । 

गएको २० वर्षमा २ हजार २ सय नयाँ बोटविरुवा र जीवहरु यहाँ खोजिएका छन् । ६ हजार ९ सय किमीमा बग्ने अमेजन नदी विश्वको दोस्रो ठूलो नदी हो । 

अमेजनमा लागेको आगोलाई लिएर विश्वभरि नै चिन्ता बढेको छ । सामाजिक सञ्जालमार्फत पनि आगलागी रोक्नको लागि अपिल गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया