नेपाल ओलम्पिक कमिटीको अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठकाे उम्मेदवारी

 भदौ १०, २०७६ मंगलबार १६:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

अघिल्लो चुनावमा पनि यी दुईले नै प्रतिस्पर्धा गरेका थिए । भदौ २० गते हुने कार्यसमितिको चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो । १९ पदमध्ये १७ पदमा चुनाव हुनेछ ।

अध्यक्षमा २, उपाध्यक्षमा ८, महासचिवमा २, सचिवमा ४, सदस्यमा ८ कोषाध्यक्षमा १ र सह-महासचिवमा १ जनाले उम्मेदवारी दिएका हुन् । २७ मतदाता रहेको ओलम्पिक कमिटीमा २६ जना उम्मेदवारको रुपमा रहेका छन् । यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिनेमा ओलम्पिक कमिटीका पूर्व अध्यक्ष तथा जिम्न्याष्टिक संघका ध्रुवबहादुर प्रधान मात्रै रहेका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको उप-महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् ।

उप-महासचिव तिम्सिनासहित कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्विरोध भए । दाबी विरोधको समय सकिएपछि बिहीबार उम्मेदवारको नाम सार्वजनिक हुने छ ।

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । ज्योति राणा, तेजबहादुर गुरुङ, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्टसहित ४ जनाले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपक हर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा छन् । सचिव पदमा तीन जना निर्वाचित हुने छन् ।

कार्यसमितिको सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । यसबाट ७ जना निर्वाचित हुने छन् । सदस्य पदमा रमेश सिवाकोटी, राम अवाले, दीर्घ केसी, मनोरञ्जनरमण शर्मा, प्रकाश राणा र गोपालसुन्दर लाल कक्षपति, टासी घले र होमबहादुर दोङले उम्मेदवारी दिएका हुन् ।

ओलम्पिक कमिटीको १९ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित हुनेछन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया