डेब्यू खेलमै १६ वर्षीय फातीको गोल, बराबरीमा रोकियो बार्सिलोना

 भदौ १५, २०७६ आइतबार ६:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

गिनीका १६ वर्षीय स्ट्राइकर अनसु फातीले व्यवसायिक फुटबलको डेब्यू खेलमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ओसासुनासँग संघर्षपूर्ण बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा ओसासुनाले सुरुवातमै अग्रता बनाएको थियो । ब्रेन्डन थोमसको पासमा रोवर्टो टोरेसले हेडमार्फत गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा बार्सिलानाले गोल फर्काउन सकेन । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले दोस्रो हाफको सुरुमै नेल्सन सेमेडोको स्थानमा फातीलाई व्यवसायिक फुटबलमा डेब्यू गराए । बार्सिलोनाको बी टिमबाट खेलिरहेका फातीले सिनियर टिममा डेब्यू गरेको ६ मिनेटपछि गोल गर्न सफल भए । उनले कार्लेस पेरेजको क्रसलाई सदुपयोग गरेका हुन् ।

१६ वर्ष ३०४ दिनका फाती ला लिगा इतिहासमै कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फ्याब्रिस ओलिंगाले १६ वर्ष ९८ दिन र इकर मुनिइनले १६ वर्ष २८९ दिनको उमेरमा गोल गरेका थिए । 

६४ औं मिनेटमा अर्का सब्स्टिच्युड स्ट्राइकर आर्थरले गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । उनले पनि पेरेजकै क्रसमा गोल गरेका हुन् । आर्थरले ५३ औं मिनेटमा राफिन्हालाई प्रतिस्थापन गरेका थिए ।

८१ औं मिनेटमा ओसासुनाले पेनाल्टीमार्फत गोल गरी घरेलु मैदानमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । 

ओइरको क्रस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको पाखुरामा लागेको थियो । नयाँ नियमअनुसार ओसासुनाले पेनाल्टी पायो र रोवर्टो टोरेसले पेनाल्टीमा कुनै गल्ति गरेनन् । 

पहिलो खेलमा एथ्लेटिको विल्वाओसँग पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसमाथि ५–२ को सानदार जित रचेको थियो । 

चोटग्रस्त लियोनल मेस्सी, लुइस स्वारेज र ओस्मान डेम्बेलेको अनुपस्थितिमा युवा खेलाडीको भर परेको बार्सिलोनाले स्तरीय खेल देखाए पनि जित हासिल गर्न सकेन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया