पशुपतिमा व्यवस्थित तिज, २ बजेसम्म चार लाख भक्तजनले दर्शन गरे

 भदौ १६, २०७६ सोमबार १५:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तिजकाे अवसरमा पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज र व्यवस्थितरुपमा दर्शन गरेको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार ओटै ढोका खुला गरिएको थियो । 

बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले बताउनु भयो । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाइन लाग्ने व्यवस्था गरिएको छ । उत्तरतिर गुह्येश्वरी र दक्षिणतर्फ एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लामो लाइन देखिन्छ । 

पश्चिममा जयबागेश्वरीबाट छिर्ने लाइन भने सहज रहेकाले भक्तजनलाई त्यताबाट लाइन बस्न सदस्यसचिव ढकालले आग्रह गर्नुभयो । यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तिजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिकरुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आउनुभएकी रश्मिला ढुङ्गानाले बताउनु भयो । गएको वर्षभन्दा यस वर्ष लाइनबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको उहाँको प्रतिक्रिया थियो । 

दिउँसो २ बजेसम्म झण्डै चार लाख भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले जानकारी दिनुभयो । तिजको दिन सोमबार पनि परेकाले भक्तजनको बढी भिड लागेको छ । भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन् । 

यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ । ३० प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताउनु भयो । भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ । 

मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन् । अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर ग पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । 

यसैगरी पेप्सीकोलाको नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भिड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाइन लाग्ने गरेको छ । 

उपत्यकाका वसन्तपुरको महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरिका शिवालयमा महिला भक्तजनको उल्लेख्य भिड छ । दिनभर व्रत बसेका महिलाले बेलुका पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तिज व्रत उद्यापन गर्छन् । 

तिजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया