सिंगापुरबाटै मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीकाे छलफल

 भदौ १७, २०७६ मंगलबार १५:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक सिंगापुरबाटै मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभएको छ । 

भिडियो कन्फरेन्समार्फत मंगलबारको छलफललाई मन्त्रिपरिषद् बैठक भनिएको छैन । गएको भदौ ९ गते सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत भएको छलफललाई भने प्रधानमन्त्री ओली स्वयंले मन्त्रिपरिषद् बैठक बसेको भनेर भन्नुभएको थियो । 

प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार दिउँसो १ः१० बजेदेखि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल भएको जानकारी दिनुभयो । 

भिडियो कन्फरेन्समार्फत मन्त्रालयका कामकारवाही र मन्त्रिपरिषद् बैठक नबस्दा आएका समस्याका बारेमा छलफल भएको रिमालले बताउनुभयो । यसअघि भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको भन्दै चौतर्फी विरोध भएको थियो । 

विदेशमा बसेर नेपालको मन्त्रिपरिषद् बैठक चलाउन नमिल्ने भन्दै सत्तारुढ र प्रतिपक्षी नेताका साथै सामाजिक सञ्जालमा विरोध भएको थियो । यसविषयमा संसदमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्पष्टिकरण दिँदै प्रधानमन्त्रीसँग भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद् बैठक नभई हाइ हेल्लो मात्रै भएको बताउनुपरेको थियो । 

मंगलबार दोस्रो पटक भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद् सदस्यबीच छलफल मात्रै भएको र यो मन्त्रिपरिषद् बैठक पनि नभएको तथा कुनै निर्णय पनि नभएको बताइएको छ । 

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले आफ्नो उपचार चलिरहेको र स्वास्थ्य ठिक रहेको जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया