कुवेतविरुद्ध नेपालको लज्जास्पद हार

 भदौ २०, २०७६ शुक्रबार ६:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतसँग उसकै मैदानमा ७–० गोलको लज्जास्पद पराजय ब्यहोरेको छ ।

छनोटको समूह बी मा रहेको नेपालले पहिलो खेल कुवेतको राष्ट्रिय रंगशालामा खेलेको हो । वास्तवमा यो खेल नेपालको घरेलु मैदानमा हुनुपर्ने थियो । दशरथ रंगशाला पुनर्निर्माणको क्रममा रहेकाले एन्फाको आग्रहमा कुवेतले पहिला होम खेल खेल्न सहमत भएको थियो ।

फिफा वरीयतामा नेपालभन्दा १० स्थान माथि (१५६ औं स्थान)मा रहेको कुवेतले पूरै खेलमा नेपाललाई नियन्त्रणमा राखेको थियो । खेलको छैटौं मिनेटमै युसुफ अल सलमानको गोलमार्फत अग्रता बनाएको कुवेतका लागि फाहाद अल हाजेरीले १३ औं मिनेटमा गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा नेपालले ५ गोल खायो ।

५० औं मिनेटमा सलमानले नै व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको ९ मिनेटपछि अब्दुल्लाह मावीले गोल गरी ४–० को अग्रता दिलाए । ६७ औं मिनेटमा बदर अल मतवाले पाँचौं गोल गरेका थिए । ७५ औं मिनेटको समयमा खराव प्रकाशका कारण खेल केहिबेर अवरुद्ध भएको थियो । नेपालले अन्तिम २ गोल इन्ज्यूरी समयमा खाएको हो ।

७ मिनेट थपिएको इन्ज्यूरी समयको चौथो मिनेटमा रेदा हानी र सातौं मिनेटमा हुसेन अल मोसावीले गोल गरेपछि कुवेतले फराकिलो जितका साथ विश्वकप छनोटको सुखद सुरुआत गरेको हो । विशेष गरी रक्षापंक्तिमा अनुभवी खेलाडीको अभाव नेपाललाई राम्रै खड्कियो । नियमित कप्तान विराज महर्जन टिममा नपरेपछि नेपालको रक्षापंक्तिमा अनन्त तामाङ र देवेन्द्र तामाङले संहालेका थिए ।

दायाँतर्फ अजित भण्डारी र बायाँतर्फ सुमन अर्याल थिए । कुनै पनि डिफेन्डरले शारीरिक रुपमा बलिया र अग्ला घरेलु स्ट्राइकरहरुलाई रोक्न सकेनन् । खेलभर नेपालले एउटै पनि अवसर पाएन । त्यसको विपरित पहिलोपल्ट नेपालको कप्तानी गरिरहेका गोलरक्षक किरण चेम्जोङ भने निकै व्यस्त रहे । नेपालका प्रशिक्षक याेहान कालिनले जिम्मेबारी लिएपछि नेेपालले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

कालिनकाे नेतृत्वमा नेपालले पहिले खेल कुवेतसँग नै खेलेकाे थियो । गत चैतमा भएकाे दुइ मैत्रीपूर्ण खेलमध्ये पहिलाे खेल गाेलरहित बराबरी र दाेस्राे खेलमा १-० काे पराजय ब्यहाेरेकाे थियाे । पाँच दिनपछि नेपाल समूको दोस्रो खेलका लागि चाइनिज ताइपेइ पुग्नेछ । यस खेल भदौ २४ गते हुनेछ । पहिलो खेलमा पराजयले नेपालको मनोबल खस्किएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया