एकै खेलमा मालिङ्गाका कीर्तिमानै कीर्तिमान

 भदौ २१, २०७६ शनिबार ७:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाका बलर लासिथ मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिँदै मालिङ्गा दुईपटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

यससँगै उनी ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले ट्वेण्टी–ट्वेण्टीका ७६ खेलमा १ सय ४ विकेट लिएका छन् । यो उपलब्धिले उनलाई ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा २ पटक ह्याट्रिंक गर्ने पहिलो खेलाडी पनि बनाएको छ ।

एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने मालिङ्गा एक मात्र खेलाडी हुन् । समग्रमा ५ पटक ह्याट्रिक पनि अहिलेसम्म कुनै क्रिकेटरले गर्न सकेका छैनन् । 

उनले तेश्रो ओभरको तेश्रो, चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिए । तेश्रो ओभरको तेश्रो बलमा ओपनर कोलिन मुनरोलाई आउट गरेका मालिङ्गाले चौथो बलमा हमिश राउटफोर्डलाई पेबिलियनको बाटो देखाए । पाँचौँ बलमा कोलिन डी ग्राण्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । उनी यतिमै रोकिएनन् र ओभरको अन्तिम बलमा रोस टेलरलाई पनि एलबीडब्ल्यू धरापमा पारे । मालिङ्गाले अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिएका यो दोश्रो पटक हो । यो उपलब्धि हासिल गर्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् ।

मालिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गरेको यो पाँचौ पटक हो । यो उपलब्धि पनि अरु कुनै बलरले हात पार्न सकेका छैनन् । एकदिवसीय क्रिकेटमा तीनवटा ह्याट्रिक गर्ने पनि मालिङ्गा एकमात्र बलर हुन् ।

श्रीलंकाको पाल्लाकेलेमा शुक्रबार राति भएको न्यूजिल्याण्डसँगको खेलमा ४ ओभर बलिङ गरेका मालिङ्गाले जम्मा ६ रन मात्र दिएर पाँच विकेट लिए । कप्तान मालिङ्गाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलकाले न्यूजिल्यान्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेट ३७ रनले जितेको छ ।

१ सय २६ रनको सामान्य लक्ष्य भए पनि न्यूजिल्याण्डलाई १६ ओभरमा ८८ रनमा अलआउट गर्दै श्रीलंका विजयी भएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया