सोमबारदेखि काठमाण्डौमा बिजुली बस, पछिल्लो सिटमा आकर्षण

 भदौ २२, २०७६ आइतबार ११:४३:३९ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाण्डौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो । 

पछिल्लो सिटमा आकर्षण

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनु भयो ।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

यसले गर्दा सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ । बसको अगाडि भागमा आरक्षित सिटहरु रहेको हुनाले भिड पनि कम हुने सदस्य पोखरेलले भन्नुभयो । ‘यो बसको आकर्षण भनेको नै यात्रुलाई पछाडि भागमा राखेर यात्रु चढ्न र ओर्लनका लागि सजिलो बनाउनु हो’ उहाँले भन्नुभयो ।

बसका अरु सुविधा

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक पटकमा ६ वटा बस चार्ज गर्न मिल्ने

भत्केको पुलमा सञ्चालनमा आएको चार्जिङ स्टेशनमा एकै पटक ६ ओटा बस चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

चार्जिङ स्टेशनमा कम्तीमा चार घण्टामा गाडी पुरै चार्ज हुने इञ्जिनियर तिलक गिरीले बताउनु भयो । सुपर चार्जिङ मेसिन भएकोले एक पटक चार्ज गरेपछि औसत २ सय ६८ किलोमिटर गुड्ने समितिले जानकारी दिएको छ ।

‘चक्रपथमा गुड्ने डिजेलबाट चल्ने गाडीले दैनिक चार हजार रुपैयाँ बराबरको इन्धन खपत गर्दा विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली खपत गर्छ’, अध्यक्ष थापाले भन्नुभयो । यसबाट यातायात सेवा सरल र सहज बन्नुका साथै ६ वर्षभित्रमा नाफामा जान सक्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।

एउटा चार्जिङ स्टेशनका लागि झण्डै ७० लाख रुपैयाँ लागत लागेको र पूर्णरुपमा सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ ।

तत्कालका लागि होम चार्जिङ सेन्टर सञ्चालनमा ल्याए पनि अहिलेसम्म सरकारबाट अनुमति नपाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले गुनासो गर्नुभयो । सरकारले लाइसेन्स दिएको अवस्थामा सीतापाइला र सुकेधारामा  पनि चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

यस्तो छ रुट–

बिजुली बस रिङरोड, नारायणस्थान हुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ।

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा काठमाण्डौका ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।

विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

अन्तिम अपडेट: चैत १२, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया