बेटी नै बाँचेनन् भने  बेटी पढाउ, बेटी बचाउ अभियानको औचित्य रहँदैन: सांसद महताे

 भदौ २२, २०७६ आइतबार १४:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर-३, छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाण्डाैको र्कितिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने अभियानको औचित्य हुनेछैन ।’

त्यसैगरी बैठकको शून्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै दोषीलाई नियन्त्रणमा लिएर तत्काल कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद पार्वता डीसी चौधरीले मुस्कान खातुनको सम्पूर्ण उपचार खर्च ब्यहोर्दै दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जिउन बाध्य हुने भन्दै कानुन संशाेधन गरेर भए पनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राई लगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया