लोकप्रिय मत पाएका छौँ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ : प्रचण्ड

 भदौ २३, २०७६ सोमबार १३:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर नागरिकको सेवा गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरि एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढने पनि स्पष्ट पार्नुभयो । ‘कुनै पनि खालको निरंकुशता हामीलाई स्वीकार्य छैन, नेपाली जनतालाई पनि त्यस खालको निरंकुशता स्वीकार्य हुने छैन’, अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘इतिहासको चक्कालाई पछाडि धकेल्ने र हजारौँ जनयुद्ध र जनआन्दोलनका शहीदहरु र लाखौँ जनताको त्यागबाट प्राप्त गणतन्त्र र संघीय लोकतन्त्रलाई उल्ट्याउने कुुरा कुनै पनि हालतमा दिन सकिने छैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशीला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरि जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोरी भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

‘हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई नागरिकप्रति समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपना पूरा हुने बताउनुभयो । ‘कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया