भीभीआईपी सवारीका बेला ट्राफिक प्रहरीलाई १०१ डिग्रीको ज्वरो आउँछ

 भदौ २६, २०७६ बिहिबार ११:३८:३१ | सिताराम हाछेथु
unn.prixa.net

विशिष्ट(भीआईपी) र अतिविशिष्ट(भीभीआईपी) व्यक्तित्वको सवारीमा ट्राफिक व्यवस्थापनको लागि हामीलाई माथिबाट निर्देशन आएको हुन्छ । यसमा औपचारिक, अनौपचारिक, प्राइभेट र राजकीय गरेर ४ किसिमको हुन्छ । सवारीको किसिमअनुसार हामीले ट्राफिक व्यवस्थापनको योजना बनाएका हुन्छौँ ।

प्राइभेट सवारीमा कुनै पनि गाडी रोक्नुपर्दैन । कुनै भोज भतेरमा जाँदा वा अस्पताल जाँदा हुने सवारीलाई प्राइभेट सवारीका रुपमा लिइन्छ । यसमा ट्राफिक पुलिस राखेर व्यवस्थापन हुन्छ, यसमा अरु केही गर्नुपर्दैन ।

औपचारिक र अनौपचारिक सवारी हुँदा वान वे हुन्छ । जसमा आउनेजाने गाडीलाई बन्द गर्नुपर्ने हुन्छ । राजकीय सवारी हुँदा पुरै सडक नै खालि गर्नुपर्ने हुन्छ । र ट्राफिक प्रहरी यी चार किसिमका सवारीअनुसार अति विशिष्ट र विशिष्टको सवारी व्यवस्थापन योजना गर्ने गरेको छ ।

हामी ट्राफिक प्रहरीहरुले यो कार्यक्रमका लागि सवारी हुँदैछ भन्ने कुराको बारेमा सीडीओे कार्यालयमा मिटिङ गरेर थाहा पाउँछौँ । मिटिङमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली आर्मी, सशस्त्र प्रहरीलगायतका सबै क्षेत्रका उच्चपदस्थ व्यक्तिहरु उपस्थित हुनु भएको हुन्छ । मिटिङमा को व्यक्ति, कुन रुटको प्रयोग गरेर, कहाँ आउँदैछ र जाँदैछ भनेर हामीलाई खबर आउँछ र त्यहीअनुसार हामीले ट्राफिक व्यवस्थापनको योजना गर्छौँ । 

काठमाण्डौमा पछिल्लो समय सवारीको चाप निकै बढिरहेको छ । रत्नपार्क क्षेत्रमा १ मिनेटमा १५९ वटा मोटरसाइकल र गाडीहरु गुड्ने गरेका छन् । अब यसैलाई ध्यान दिने हो भने कुनै सवारी हुँदा ५ मिनेट मात्रै सवारीसाधन रोक्नु पर्याे भने ५०० देखि ७०० वटा रोकिन्छ ।

पहिले राजाको पालामा सवारी हुँदा गाडीहरु पनि कम थिए, यस्तो समस्या थिएन । तर अहिले त गाडीको चापको कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या छ । अहिले सवारी हुँदा सुरक्षा दिनुपर्ने अवस्था, गाडी पनि रोक्नुपर्ने अवस्था, मान्छे पनि रोक्नुपर्ने अवस्था कारणले ट्राफिक र नागरिक दुवैलाई निकै गाह्रो छ ।

यसमा सामान्यदेखि अत्यावश्यक एम्बुलेन्स, दमकल सबै पर्ने गरेका छन् । पहिले–पहिले चाहिँ सवारी हुँदा ट्राफिक व्यवस्थापन गर्दा नबुझेर कुनै पनि गाडी छोडिने थिएन होला । तर अहिले  हामीलाई एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारीलाई छोड्ने आदेश छ र हामीले छोड्ने गरेका छौँ ।

तर गाडी बीचमा छ भने त्यो गाडी छोड्न ट्राफिकलाई अलि समस्या हुन्छ । अगाडि नै  छ भने त हामीले छोड्ने गरेका छौँ । उदाहरणका लागि कोटेश्वरमा सवारी हुँदा हामीले भक्तपुरको गाडी बन्द गर्नुपर्ने हुन्छ । अब भक्तपुरमा गाडी बन्द गर्दा त्यो दुई लेनको बाटोलाई वान वे बनाउन पनि सकिन्न । त्यसैले कुनै एम्बुलेन्स वा दमकललगायतका सवारी गाडीको लाइनमा परे भने तिनलाई अगाडि ल्याउन पनि निकै गाह्रो हुन्छ ।  राजकीय सवारी हुँदा पनि एम्बुलेन्स, अत्यावश्यक सवारीलाई छोड्नु भन्ने आदेश छ र हामी छोड्छौँ पनि ।

नागरिकलाई मात्रै होइन, हामी ट्राफिक प्रहरीलाई पनि त सवारीका बेला १०१ डिग्रीको ज्वरो नै आउँछ । एकातर्फ सवारीको ट्राफिक व्यवस्थापन र सुरक्षा गर्नुपर्छ नै । अर्काेतर्फ स्कुल बसदेखि धेरै गाडीहरु लाम लागेका हुन्छन्, गाडीहरुले हर्न बजाइराखेका हुन्छन् । कसैलाई स्कुल, अफिस, हस्पिटल जानुपर्ने हुन्छ भने कसैलाई एअरपोर्टमा प्लेन चढ्न जानुपर्ने हुन्छ । सबैले कराइराखेका हुन्छन् । हामीलाई त्यो प्रेसर पनि हुन्छ । यता सवारी व्यवस्थापनको प्रेसर त हुने नै भयो । यो सबैले गर्दा त ट्राफिक प्रहरीलाई १०१ ज्वरो आएको झैँ तनाव हुन्छ ।

त्यसैले यसको लागि अब विकल्प सोच्ने बेला आइसकेको छ । सवारीका बेला छोटो र नागरिकलाई समस्या नहुने किसिमको अर्काे रुटको व्यवस्था गर्नुपर्छ । राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, उपराष्ट्रपतिज्यू तथा अन्य ठूला व्यक्तित्वहरुको ठूला कार्यक्रमहरु उहाँहरुकै  निवास वा कार्यालयमा हल बनाएर गर्ने र पाहुनाहरुलाई पनि त्यहीँ बोलाउने  गर्दा धेरै सजिलो हुन्छ । त्यस्तै कुनै नगइ नहुने कामका लागि मात्र बाहिरको सवारी प्रयोग गर्ने गरेमा नागरिकलाई दुःख हुने थिएन ।

हाम्रोमा चार लेनको बाटोमा सवारी गराउँदा पनि सबै गाडी बन्द गर्ने गरिएको छ । पहिले हामीले राजाको सवारी हुँदा रत्नपार्कको चार लेनको बाटोमा  कोनको प्रयोग गरेर दायाँतर्फको एउटा लेन छुट्याउने गरेका थियाैँ । अहिले पनि त्यस्तो गर्न सकिन्छ । बायाँतर्फ अरु नागरिकहरुलाई चलाउन दिने अनि दायाँको बाटोमा कोन राखेर पनि भीआईपी सवारी व्यवस्थापन गर्न सकिन्छ ।

त्यस्तै, सम्बन्धित निकायले सकेसम्म भीआईपी सवारी पिक आवरमा नगराउँदा राम्रो हुन्छ । मिल्छ भने बिहान, दिउँसो, बेलुका मिलाएर गर्नुपर्छ । सकेसम्म कम चाप हुने वैकल्पिक बाटोको प्रयोग गर्न सकिन्छ । चार लेनको बाटो छ भने एक लेन छोडेर पनि गर्न मिल्छ । 

– उज्यालो अनलाइनका लागि रोशन केसीसँगको कुराकानीमा आधारित 

अन्तिम अपडेट: चैत १, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

1 Comments

  • Randhir

    Sept. 12, 2019, 11:43 a.m.

    भिआइपीले पनि आमनागरिकले जस्तै नियम पालना गर्नुपर्छ किनकि तिनीहरु पनि देशकै जनता हुन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया