दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

 भदौ २७, २०७६ शुक्रबार १४:२७:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।
 
यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उहाँको भनाइ छ । 

सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ । उहाँले भन्नुभयो, 'चाडपर्व सकिएपछि नै दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ ।'

राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताउनुभयो । विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, 'सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन, यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन ।'

विभागले गएकाे जेठ महिनामा भाडादर वृद्धि गरे पनि त्याे निर्णय पाँच घण्टामै फिर्ता लिएको थियो । बर्सेनि दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषय उठ्ने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया