टीभीएस खुला दौडको उपाधि हरि रिमाललाई

 भदौ २८, २०७६ शनिबार १६:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आर्मीका हरि रिमालले टीभीएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् ।

आर्मीको वर्चश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट,२९.८१ सेकन्डमा दूरी पार गरेका थिए । दोश्रो स्थानमा रहेका दिपक अधिकारी १.४ सेकेण्डले मात्र पछि परेका थिए । उनले दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए । तेश्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेण्डमा दूरी पार गरेका थिए ।

स्वास्थ्यका लागि रमाइलो टीभीएस दशैँ दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि सहभागी भएका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेको ८ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुँदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डप, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुँदै नक्सालको टीभीएस शाेरुममा आएर समाप्त भएको थियो ।

विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दिपक अग्रवाल, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्रा धाविका मिरा राईलगायतले पुरस्कृत गरेका थिए ।

उपाधि विजेता रिमालले ५० हजार, उपविजेता अधिकारीले २५ हजार र तेश्रो स्थान हात पार्ने राईले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया