च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो ? अब के गर्ने ? सुरक्षित स्थान कहाँ छ ? कसलाई सम्पर्क गर्ने ? के गर्ने ? के नगर्ने ? यी प्रश्नका जवाफ तत्काल सञ्चारमाध्यमबाट आउन सक्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायतले दिने सूचना विपद् प्रभावितका लागि पहिलो राहत हुने गर्दछ ।
विपद्का समयमा सञ्चारमाध्यमले के कसरी समाचार, विचार तथा सूचना सम्प्रेषण गर्ने भन्ने मुख्य विषयमा केन्द्रीय रही ‘विपद् पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ । काठमाण्डाैमा रहेकाे राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)ले बेलायतस्थित ‘वर्नमाउथ युनिभर्सिटी’सँगको सहकार्यमा साेमबार आयोजित कार्यक्रममा पुस्तक सार्वजानिक गरिएको हो ।
पुस्तकले २०७२ सालको भूकम्पपछिको स्थिति, यसमा नेपाली पत्रकारिताले सम्प्रेषण गरेका सामग्री, विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका, जलवायु परिवर्तन, प्रकोप, मिडियालगायत विषयलाई समेटेको छ । अहिले पनि मिडियासँग आपत्कालीन अवस्थामा के कसरी कार्य गर्न योजना नभएको पुस्तकमा समेटिएको छ ।
युनेस्कोमा कार्यरत सञ्चारविज्ञ चिन्दु श्रीधरण, इनर थोर्सन र निर्जना शर्माद्वारा संयुक्त रुपमा सम्पादित अङग्रेजी र नेपाली दुवै भाषामा सम्पादित सो पुस्तकको पहिलो अध्यायमा भूकम्पपछि नेपाली सञ्चार जगतले समाना गर्नु परेका मुख्य मुख्य मुद्दा, दोस्रो अध्यायमा विपद् पूर्वतयारी कसरी गर्ने भन्ने बारेमा छ । विपद्का विभिन्न चरणमा सञ्चारमाध्यम र स्वयम सञ्चारकर्मीले गर्न सक्ने कार्यका बुँदालाई सूचीकृत गरिएको छ ।
पुस्तककाे तेस्रो अध्याय पछिल्लो समय जलवायु परिवर्तनले ल्याएका समस्यामा केन्द्रित छ । चौथो र पाँचौँ अध्यायमा विपद् पूर्वतयारीका अवस्थामा के कस्तो तयारी गर्नुपर्छ भनेर मूल्याङ्कन पुस्तकले गरेको छ । साथै विपद् उत्थानशीलतामा सुधार गर्न सञ्चारगृह, सञ्चारकर्मी, अनुसन्धानकर्मी, पत्रकारिताका शिक्षकलगायतले गर्नुपर्ने कामलाई सुझावका रुपमा पुस्तकभित्र समावेश गरिएको छ । युनेस्कोका नेपालस्थित प्रतिनिधि क्रिश्चियन म्यानहार्ट र त्रिविवि आम सञ्चार विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले संयुक्त रुपमा पुस्तक सार्वजानिक गर्नुभएको थियो ।
त्यस अवसरमा म्यानहार्टले विपद्ले के के पाठ सिकाएर गए र आगामी दिनका सम्भावित विपद्बाट कसरी जोगिन सकिन्छ भन्ने विषयलाई पुस्तकले अनुसन्धानमूलक रुपमा प्रस्तुत गरेको चर्चा गर्दै प्राज्ञ, पत्रकारिताका विद्यार्थी र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत सबैका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
विभागीय प्रमुख खनालले चारवर्षे स्नातक तहको पाठ्यक्रममा विपद् पत्रकारिता समावेश गर्न लागिएको जानकारी दिँदै आगामी दिनमा पुस्तकले औँल्याएका सुझावलाई कार्यान्वयनमा उतार्न सुझाव दिनुभयो ।
पुस्तकका लेखक श्रीधरण, थोर्सन र शर्माले सङ्क्षिप्त धारणा राख्दै विपद्मा पत्रकारिताले जीवन बचाउन सक्छ, जीवन कसरी बचाउने भन्ने ध्येय पुस्तकले राखेको छ भन्नुभयो ।
शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारीले अहिले पनि नेपाली सञ्चारगृह विपद् जोखिमका क्षेत्रमा संवेदनशील रहेको चर्चा गर्दै पुस्तकले दिएका सुझावलाई कार्यान्वयनमा उतार्नुपर्छ भन्नुभयो ।
विपद्मा पत्रकारको उत्थानशील निर्माण गर्न व्यक्तिगत र व्यावसायिक आपत्कालीन योजना बनाई काम गर्न, विपद्का परिदृश्यमा सम्पर्क कायम गर्न सम्भावित विषयसूची तयार गर्ने, महत्वपूर्ण व्यक्ति, निकाय र संस्थाका प्रमुखसित नजीकमा रहने, आपत्कालीन समयमा आवश्यक सामग्री भण्डारण गर्ने, सञ्चारगृहका भौतिक तथा कार्यकक्षलाई जोखिम न्यूनीकरण बनाउन ध्यान दिनेलगायत सुझाव पुस्तकमा समेटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।