कर्मचारी नहुँदा तीन वर्षदेखि बर्थिङ सेन्टर बन्द, मर्कामा स्थानीय

 असोज २, २०७६ बिहिबार ११:१:२५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ  – वि सं २०७४ सालमा गाउँमा नै बर्थिङ सेन्टर स्थापना हुने भनेपछि मष्टा गाँउपालिका –४ का स्थानीय बासिन्दा खुशीले दंग भए । त्यतिबेला सबैलाई लागेको थियो अब तीन/चार घण्टा हिँडेर सुत्केरी गराउन सदरमुकामसम्म पुग्नु पर्दैन ।

स्थानीयकै सहयोगमा बर्थिङ सेन्टर बन्ने भयो । स्थानीय मंगल कठायतले बर्थिङ सेन्टर स्थापनाका लागि निःशुल्क जग्गा दान गर्नुभयो । गाउँकै मानिसले सुविधा पाउने भएकाले उहाँले आफ्नो खेतीयोग्य जमिन बर्थिङ सेन्टरका लागि उपलब्ध गराउनुभयो । ०७४ सालमा नै बर्थिङ सेन्टर निर्माणको काम सम्पन्न भयो ।

स्थानीय महिलाहरुले खोलाबाट ढुंगा, माटो बोकेर र पुरुषहरुले ढुंगा फुटाएर एक महिनामा नै बर्थिङ सेन्टरका लागि भवन निर्माण गरे । निर्माण भएको एक वर्षपछि वडा कार्यालयले तामझामकासाथ बर्थिङ सेन्टरको उद्घाटन गर्‍यो । उद्घाटन भएको दोस्रो दिन बर्थिङ सेन्टरमा ताला लाग्यो । त्यो ताला अहिलेसम्म खोलिएको छैन । भवन बन्यो । उद्घाटन पनि भयो । तर पनि बर्थिङ सेन्टरमा काम गर्ने कर्मचारी भएनन् । दक्ष कर्मचारी नहुँदा स्थानीयले देखेका सबै सपना चकनाचुर बन्यो ।

अहिले पनि सामान्य उपचारका लागि स्थानीय सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा पग्छन् ।  ‘गाउँमा नै बर्थिङ सेन्टर निर्माण भएपछि सुत्केरी महिलाले पहिलेजस्तो दुःख पाउनु पर्दैन भनेर ढुंगा बोकियो । तर घर मात्र बन्यो अरु त सब उस्तै’, स्थानीय सुनादेवी कठायतले दुखेसो पोख्नुभयो । ‘सदरमुकामको अस्पतालसम्म पुग्न गाह्रो छ । कति पय महिलाहरु त ज्यानकै बाजी राखेर घरमा नै सुत्केरी हुने गरेका छन् ।’ उहाँले भन्नुभयो ।

स्थानीयले निर्माण गरेको यो बर्थिङ सेन्टरमा २४ घण्टा खानेपानीको व्यवस्था, सोलार, शौचालयसमेत रहेको छ । तर सेन्टरमा बस्ने कर्मचारीको टुङ्गो नलागेका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन । वडा कार्यालयको आर्थिक सहयोगमा झण्डै २ लाख रुपैयाँको लागतमा २०७५ सालमा नै आवश्यक औषधि तथा विभिन्न सामाग्रीसमेत बर्थिङ सेन्टरका लागि खरिद गरिएको थियो । त्यतिबेला खरिद गरेको औषधि पनि अब काम नलाग्ने भइसेको स्थानीय बताउँछन् ।

पछिल्लो समय पनि स्थानीयले पालिकामा बर्थिङ सेन्टर सञ्चालनका लागि अनुरोध गर्दै आएका भए पनि सुनुवाइ हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका कारण पनि बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानीयको आरोप छ ।

यता, बर्थिङ् सेन्टर सञ्चालनका लागि पटक–पटक गाउँपालिकादेखि विभिन्न निकायसम्म कुरा गरेको भए पनि कतैबाट सुनुवाइ नभएको वडा नम्बर ४ का वडाध्यक्ष प्रयागराज उपाध्याय बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको बैठकमा स्वास्थ्यकर्मीकोे माग राख्दै बैठेक बहिस्कार समेत गरेको छु । तर पनि सुनुवाइ भएको छैन ।’

मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत भने स्थानीय बासिन्दाको विवादका कारण बर्थिङ् सेन्टर सञ्चालनमा आउन नसकेको बताउनुहुन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया