सरकार हाम्रो श्रम स्वीकृती नरोक :ओमानमा कार्यरत घरेलु महिला कामदार

 जेठ ७, २०७५ सोमबार १६:४:१२ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई, जेठ ७ – झापाको गौरादहकी फूलकुमारी ताजपुरियाले १८ वर्ष भयो ओमानमा काम गरेको । उहाँ बेलायती नागरिकको घरमा काम गर्नुहुन्छ । घरको काम भएपनि ओमानमा कम्पनीमा काम गर्नेको भन्दा राम्रो छ उहाँले पाएको सेवा सुविधा ।

 ‘हप्तामा दुई दिन छुट्टी पाउँछु, जहाँ जाँदा पनि गाडीको व्यवस्था सासुसाहुनीले नै गर्छन्, तर मैले घर जान पाएको छैन,’ फूलकुमारीले गुनासो गर्नुभयो । 

घर फर्किन नपाउँदा फूलकुमारीलाई नेपाल सरकारसँग गुनासो छ । अनि साहुसाहुनीको चाहिँ फूलकुमारीसँग प्रश्न छ, ‘तिमीलाई छुट्टी दिँदा पनि घर किन नगएको ?’

परिवारलाई भेट्न जानुपर्छ भनेर सम्झउछन् साहुसाहुनीले उहाँलाई । फूलकुमारीको पनि घर फर्किने मन त कति छ कति तर सरकारले घरेलु कामदारको पुनःश्रम स्वीकृती रोकेको छ ।

फूलकुमारीलाई घर आउन पनि मन छ । उताको राम्रो कमाइ हुने काम पनि छाड्न मन छैन् । ‘सरकारले किन हामीलाई श्रम स्वीकृती दिन रोकेको होला, राम्रो काम हुँदा त हो नि आउने, दुःख हुँदा त को नै पो आउछ र’ फूलकुमारी सरकारसँग प्रश्न गर्नुहुन्छ । 

१८ वर्षअघि उहाँ भारतको बाटो हुन्दै ओमान आउनुभएको थियो । ओमान आएको ७ वर्षपछि उहाँ भारतको बाटो हुँदै घर फर्किनुभयो पहिलोपल्ट । त्यसपछि श्रम खुलेका बेला २०१० मा पनि उहाँ नेपाल फर्किनुभयो ।

विदेशको कमाइले घरव्यवहार चल्यो तर अहिले उहाँलाई पुन श्रम स्वीकृती नहुने भएपछि समस्या परेको छ । 

‘सन् २०१५ मा बुवा विरामी भए नेपाल गएको थिएँ, त्यो बेला बुवा बिरामी बुवाको मुख हेर्न भनेर गएको, भूकम्पमा परेँ,’ फूलकुमारीले सुनाउनुभयो । भूकम्पको पीडा बोकेर ढलेको घर उठाउन फर्किएकी फूलकुमारीले घर त उठाउनुभयो तर हेर्न  पाउनुभएको छैन । 

उहाँले ओमानमा ६० हजार रुपैयाँ कमाउनुहुन्छ । साहुले दूतावासबाट कागज बनाएर पठाउछु भन्दा पनि फेरि फर्किन नपाउने डरले उहाँ घर विदामा जान पाउनुभएको छैन । ‘म रुँदै जहाज चढेर विदेश आएको हाँस्दै घर फर्किन चाहान्छु सरकार, हामीलाई नरोक,’ फूलकुमारी सरकारसँग आग्रह गर्नुहुन्छ । 

उहाँको २०२० सम्म ओमानमा काम गर्ने योजना छ । फूलकुमारी जस्तै घरेलु काममा ओमान आएका महिलाले घर फर्किन नपाएको गुनासो गरेका छन् । सरकारले पुन श्रम स्वीकृती नदिने भएपछि उनीहरु घरविदामा नेपाल फर्किन नपाएका हुन् । 

ओमानमा ७ हजार भन्दा धेरै महिला, घरेलु कामदारको सख्या धेरै  

ओमानमा कति नेपाली छन भन्ने यकिन तथ्याङ्क नभए पनि झण्डै २० हजार नेपाली कार्यरत रहेको राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । त्यसमध्ये झण्डै सात हजार नेपाली महिला ओमान काम गरिरहेको अनुमान त्यहाँ सक्रिय संघसंस्थाको अनुमान छ । त्यसमध्ये झण्डै पाँच हजार घरेलु महिला कामदार रहेको एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो । 

ओमानमा समस्यामा परेकाहरु दिनहुँजस्तो आउने गरेको र १५ जनाभन्दा थोरै महिना दूतावासको आवास गृहमा कहिल्यै कम नभएको राजदूत ढकालले बताउनुभयो ।

छिट्टै ओमान सँग श्रम सम्झौता गर्ने तयारी गरिरहेकोले हाउसमेडका समस्याको पनि सम्बोधन हुने राजदूत ढकालको भनाइ छ । ओमानमा दूतावास आफैले आवास गृह बनाउन पाउने व्यवस्था छैन । तर कामदारको समस्या र मर्कालाई हेरेर चलाइरहेको ओमानका लागि श्रमसहचारी कृष्णकुमारी गौलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया