सीपीएल बीचमै छाेडेर सन्दीप लामिछाने राष्ट्रिय टाेलीबाट खेल्न सिंगापुर जाँदै

 असोज ७, २०७६ मंगलबार १४:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग क्रिकेट सीपीएलमा ६ खेलमा प्रतिस्पर्धा गर्दा ८ विकेट लिएका छन् ।

पहिलो खेलमा विकेटविहीन भएका सन्दीपले बाँकी पाँच खेलमा ८ विकेट लिएका हुन् । पहिलो खेलमा १ ओभर मात्रै बलिङ गरेका सन्दीपले बलिङ भने किफायती गरेका थिए । नेपाली टिम सिंगापुर र ओमान सिरिजका लागि जाने भएपछि सन्दीप सीपीएलका बाँकी खेल छाडेर राष्ट्रिय टिममा सामेल हुन सिंगापुर पुग्दैछन् ।

बार्बाडोस ट्रिडेन्टबाट यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सन्दीप लामिछाने नै परेका छन् । समान ६ खेलबाट जेशन होल्डरले ९ विकेट लिँदै शीर्ष स्थानमा रहँदा सन्दीपले ८ विकेट हात पारेका छन् । जारी प्रतियोगितामै धेरै विकेट लिने खेलाडीको कुरा गर्ने हो भने सन्दीप सीपीएलको सातौँ स्थानमा छन् ।

सन्दीपले ६ खेलमा ८ विकेट लिँदा १९.५ ओभर बलिङ गरे । १ ओभर मेडन राखेका सन्दीपले १२९ रन खर्चिएका थिए । इकोनोमी रेट भने सन्दीपले ६.५ राखेका छन् ।

सन्दीपले दोस्रो खेलमा २२ रन दिएर ३ विकेट लिए । सन्दीपले गत सिजनको आफ्नै क्लब सेन्ट किट्स नेभिस पेट्रियोट्सका तीन खेलाडीलाई आउट गरेका थिए । उक्त खेलमा सन्दीप म्यान अफ द म्याच समेत भएका थिए । उक्त खेलमा सर्वाधिक ६४ रन बनाएका लावरी इभान, १३ रन बनाएका शमराह बु्रक्स र कप्तान कार्लोस ब्रेथह्वाइटलाई १ रनमै पेभेलियन पठाएका थिए ।

तेस्रो खेलमा सन्दीपले ब्याटबाट नट आउट १० रन बनाउँदा बलिङमा भने महँगो सावित भए ।

चार ओभरको स्पेलमा १ ओभर मेडन राखेका सन्दीपले ३५ रन खर्चिएर १ विकेट हात पारेका थिए । उक्त खेलमा सन्दीपले जाभेल ग्लेनलाई आउट गरेका थिए ।
चौथो खेलमा सेन्ट लुसियाविरुद्ध २९ रन दिएर सन्दीपले १ विकेट हात पारेका थिए । ३.५ ओभर बलिङ गर्दा ३१ रन बनाएका हार्डस भिल्याेनलाई आउट गरेका थिए । उनकै ओभरमा कोलिन डी ग्राण्डहोम रन आउट हुन पुगेका थिए ।

पाँचौै खेलमा गुएनाविरुद्ध ब्याटिङमा पनि मैदानमा रहेका सन्दीपले खाता खोल्न सकेनन् । बलिङमा भने उनले २१ रन दिएर १ विकेट हात पारे । वर्षाले प्रभावित गरेको उक्त खेलमा ३ ओभर बलिङ गर्दा चन्द्रपौल हेमराजलाई आउट गरे ।

जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चिएका सन्दीपले २ विकेट लिए । सन्दीपले जमैकाका चाड्वीक वाल्टन र ड्वेन स्मिथलाई पेभेलियन पठाएका थिए । ब्याटिङको मौका पाएका सन्दीपले टिमलाई भने जित दिलाउन सकेनन् । २ बलमा ६ रन चाहिएका बेला क्रिजमा रहेका सन्दीपले दुवै बल डट बनाएका थिए । अन्तिम समयसम्म नट आउट रहेका सन्दीपले ९ रन जोडेका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया