यातायात विभागको गैरजिम्मेवार जवाफ : नागढुंगाको जाम हटाउन हामीले गएर गाडी धकेल्ने होइन !

 असोज १०, २०७६ शुक्रबार १७:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौबाट मलेखुको दूरी झण्डै ७३ किलोमिटर रहेको छ । ७३ किलोमिटर यात्रा गर्न तपाईँलाई गाडीमा कति समय लाग्ला ? ३० किलोमिटर प्रतिघण्टाकै गतिमा जाँदा पनि साढे २ घण्टामा त सजिलै पुगिन्छ । तर हिजोआज काठमाण्डौबाट मलेखुसम्म पुग्न ८–९ घण्टा लाग्ने गरेको छ । 

त्यसो त नजिकै रहेको नौबिसे पुग्नै पनि तीन-चार घण्टा लाग्ने गरेको छ ।  दशैँका लागि घर जान लागेका नागरिकहरु बीच बाटोमै अलपत्र पर्नु परेको छ । अझ समस्या त उपचारका लागि बिरामी बोकेर आएका एम्बुलेन्सले समेत बाटो पाएका छैनन् ।

तर यति महत्वपूर्ण विषयमा पनि सरकार गम्भीर भएको देखिँदैन । उल्टो दुइटा विभागबीच समन्वयको अभावले जाम भएको जवाफ पाइन्छ ।

जाम बढ्दै गए पनि यातायात व्यवस्था विभाग र सडक विभागले खुलाउन खासै प्रयास गरेका छैनन् । दुवैले एक अर्कालाई देखाउँदै पन्छिने काम गरेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सडक मर्मतदेखि सबै हेर्ने जिम्मेवारी सडक विभागको रहेको प्रतिक्रिया दिनुभएको छ भने सडक विभागले समन्वयकै अभाव रहेको जनाएको छ ।

देशको मुख्य राजमार्गको बिजोग देखेर नेपाल घुम्न आएका पर्यटकहरु पनि दिक्क भएका छन् । उनीहरुले सोध्न थालेका छन्, ‘यस्तो पनि देशको मुख्य राजमार्ग हुन्छ ?’ तर जाम खुलाउने बारे जिज्ञासा राख्दा सरकारी निकाय झारा टार्ने जवाफ मात्रै दिन्छ । 

यातायात व्यवस्था विभागका प्रवक्ता खनाल भन्नुहुन्छ, ‘नागढुंगाको जाम हटाउन हामीले सडक विभागलाई भनिसकेका छाैँ, उहाँहरुले नै काम गर्नुहुन्छ । जाम हटाउन हामीले गएर गाडी धकेल्ने होइन, अरु थप राय दिन म सक्दिनँ ।’

तर सडक विभाग भने सडकको कुरा आफ्नो विभागसँगै यातायातले पनि हेर्ने बताउँछ । काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगामा जाम भएर यात्रुले घण्टौ कुरेको यो पहिलो घटना होइन । अधिकांश समय यो सडकखण्ड हुँदै ओहोरदोहोर गर्दा यात्रुले घण्टौँ मात्र होइन, कहिलेकाहीँ त दुई तीन दिन नै लाइनमै बिताउनु पर्ने बाध्यता छ ।

धेरै गाडीको आवतजावत र साँघुरो सडकका कारण पनि यो सडकमा जाम हुने गरेको छ । यस्तै एउटा गाडी बिग्रिए पनि त्यसलाई हटाउने विकल्प नहुँदा जाम हुने गरेको छ । तर वर्षौंदेखिको समस्याको दीर्घकालीन समाधानको उपायमा भने सरोकारवालको ध्यान पुगेको छैन ।

पूर्वाधार विज्ञ तथा साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्य राजमार्गको जाम घटाउने तीन वटा उपाय सुझाउँदै भन्नुहुन्छ, ‘१. यो रुटमा पुराना ट्रकलाई प्रतिबन्ध लगाउनुपर्छ । बिग्रेका ट्रकलाई जरिबानाको व्यवस्था हुनुपर्छ । । ट्रकको ‘फिटनेस’ चेक नियम लागू गरौँ । २. सडक मर्मतको काम ट्राफिक चाप कम हुने रात्रिको समयमा मात्र गरौँ । ३.लेन अनुशासनका कडाइ गरौँ ।’

देशका मुख्य राजमार्गमा सधैँ जामको समस्या भोग्नु परेको छ ।  अहिले भने दशैँका गाडी धेरै बाहिरिने बेला र खाद्यान्न तथा पशुचौपाया बोकेका गाडी धेरै भित्रिने बेलामा सडक मर्मत भएकाले पनि जाम बढेको हो । त्यसो त अहिले लगातार पानी परिरहेकाले पनि ठाउँ–ठाउँमा पहिरो गैरहेकाले पनि जाम हुने गरेको छ । 

हिजोअस्ति कलंकी नागढुंगा र नागढुंगा नौबिसे सडकखण्डमा खाल्डाखुल्डी टालटुल गर्ने काम भएको थियो । तर आज भने जाम बढेकाले मर्मतको काम रोकिएको छ । भोलिदेखि गाडी सजिलै चल्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

हेरौँ देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने गफ हाँकिरहेको सरकारले दशैँमा घर जाने नागरिकलाई समयमै घर पुग्ने वातावरण बनाएर खुशी बनाउन सक्छ कि सक्दैन ?

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया