पहिलाे टी-ट्वेन्टी: नेपालले दियाे जिम्बाब्वेलाई १३३ रनको लक्ष्य

 असोज १०, २०७६ शुक्रबार १९:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलाे टी-ट्वेन्टी खेलमा नेपालले जिम्बाब्वेलाई १३३ रनको लक्ष्य दिएको छ ।

सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।

आजको खेलमा नेपालका कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरेका छन् । पहिलो पटक टिममा परेका दुवै खेलाडीलाई टिमले पहिलो खेलमा नै मौका दिँदा इशान पाण्डेले राम्राे खेल देखाउन सकेनन् ।

रोहित पौडेल, ललित राजवंशी, पवन सर्राफ र सुसन भारीलाई आराम दिइएको खेलमा इशान कप्तान पारस खड्कासँग ओपनिङ गर्न आएका थिए । इशान जम्मा ४ रन बनाउँदै आउट भएपछि नेपालले पहिलो विकेट सस्तैमा गुमाएको थियो । त्यसपछि दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान पारस खड्काले २७ रनको साझेदारी गरेका थिए ।

तर आरिफ मात्र आठ रनमा आउट भए । त्यसको लगत्तै कप्तान पारस खड्का पनि १८ रनमा पेभेलियन फर्किएपछि नेपालले ३८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि आजको खेलमा सिनियर टिममा डेब्यु गरेका कुशल मल्ल मात्र दुई रनमा आउट हुँदा नेपालले ५५ रनमा चार विकेट गुमायो ।

त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले नेपालको पारी अघि बढाएका थिए ।

नेपालको स्कोर ८९ रन हुँदा १५।२ ओभरमा सन्दीप जोरा १७ रन बनाएर आउट भए । १५ बलकाे सामना गरेका जोराले २ चौका प्रहार गरेका थिए । छैटौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी आउट भए । ४० रन बनाएका दीपेन्द्रले ३३ बलमा ५ चौका पनि प्रहार गरेका थिए ।

६ विकेट गुमाउँदा ९५ रन बनाएको नेपालको स्कोरलाई विनोद भण्डारी र सोमपाल कामीले १३२ रनसम्म लगेका थिए । जसमा सोमपालले १४ बलमा २५ रनको सानदार पारी खेले ।

अन्तिम ओभरमा सोमपालले लगातार २ छक्का प्रहार गर्दै नेपालको  मध्यम स्कोर बनाउन सफल रहे । उनलाई विनोद भण्डारीले ११ रन बनाएर साथ दिएका थिए । जिम्बाब्वेका सिन विलियम्सले २ तथा विलिङ्स्टनले एक विकेट लिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया