त्रिकोणात्मक सिरिज: नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित

 असोज १०, २०७६ शुक्रबार २०:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिंंगापुरमा शुक्रबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० सिरिजको जिम्बावेविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । 

आजको खेलमा नेपालका कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरेका छन् । पहिलो पटक टिममा परेका दुवै खेलाडीलाई टिमले पहिलो खेलमा नै मौका दिँदा इशान पाण्डेले राम्राे खेल देखाउन सकेनन् ।

रोहित पौडेल, ललित राजवंशी, पवन सर्राफ र सुसन भारीलाई आराम दिइएको खेलमा इशान कप्तान पारस खड्कासँग ओपनिङ गर्न आएका थिए । इशान जम्मा ४ रन बनाउँदै आउट भएपछि नेपालले पहिलो विकेट सस्तैमा गुमाएको थियो । त्यसपछि दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान पारस खड्काले २७ रनको साझेदारी गरेका थिए ।

तर आरिफ मात्र आठ रनमा आउट भए । त्यसको लगत्तै कप्तान पारस खड्का पनि १८ रनमा पेभेलियन फर्किएपछि नेपालले ३८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि आजको खेलमा सिनियर टिममा डेब्यु गरेका कुशल मल्ल मात्र दुई रनमा आउट हुँदा नेपालले ५५ रनमा चार विकेट गुमायो ।

त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले नेपालको पारी अघि बढाएका थिए ।

नेपालको स्कोर ८९ रन हुँदा १५।२ ओभरमा सन्दीप जोरा १७ रन बनाएर आउट भए । १५ बलकाे सामना गरेका जोराले २ चौका प्रहार गरेका थिए । छैटौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी आउट भए । ४० रन बनाएका दीपेन्द्रले ३३ बलमा ५ चौका पनि प्रहार गरेका थिए ।

६ विकेट गुमाउँदा ९५ रन बनाएको नेपालको स्कोरलाई विनोद भण्डारी र सोमपाल कामीले १३२ रनसम्म लगेका थिए । जसमा सोमपालले १४ बलमा २५ रनको सानदार पारी खेले ।

अन्तिम ओभरमा सोमपालले लगातार २ छक्का प्रहार गर्दै नेपालको  मध्यम स्कोर बनाउन सफल रहे । उनलाई विनोद भण्डारीले ११ रन बनाएर साथ दिएका थिए । जिम्बाब्वेका सिन विलियम्सले २ तथा विलिङ्स्टनले एक विकेट लिए ।

१३३ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । जिम्बाब्वेको जितमा र्‍यान बर्लले ४१ तथा रिचमण्ड मुतुम्बानीले ४० रनको अविजित पारी खेले ।

ब्रायन चारीले १९ रन बनाउँदा टिमसेन मरुमाले १२ रनको योगदान गरे ।

नेपाली बलरले सुरुमा  जिम्बाब्वेको ब्याटिङ अर्डर बिगारे पनि सन्दीप लामिछानेको स्पेल सकिएपछि जिम्बाब्वे हावी भएको थियो । सन्दीपले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट लिएका थिए । पारस खड्कले एक विकेट लिएका थिए ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया