नाइजेरियाको 'टर्चर हाउस', जहाँ पाँच सय पुरुष-बालक बन्धक थिए

 असोज १२, २०७६ आइतबार १८:२४:१५ | एजेन्सी
unn.prixa.net

फलामको सिक्री, जसको एक भाग खुट्टामा र अर्काे भाग हातमा बाँधिएको हुन्थ्यो । बाँधिएको हातमा कुनै गाडीको पाङ्ग्रा, जसको रबर खसिसकेको हुन्थ्यो र हातमा फलाम मात्र बाँकी हुन्थ्यो । जसलाई तल राख्दा खुट्टा उचाल्न सकिदैनथ्यो र धेरै समय हातमा लिइराख्न पनि मुश्किल हुन्थ्यो । 

नाइजेरियाको कदुना शहरमा प्रहरीले एउटा भवनबाट झण्डै पाँच सय पुरुष र बालकहरुलाई छुटाउने क्रममा मुटु नै काँप्ने तस्बिर सार्वजनिक भएको हो । प्रहरीका अनुसार भवनमा बन्धक बनाइएका ती पुरुष र बालकहरुलाई यौन शोषण र अनेक किसिमका उत्पीडन गरिन्थ्यो । 

अधिकारीहरुका अनुसार यी भवनमा मदरसा (पाठशाला) चलाइएकोजस्तो देखाइन्थ्यो, प्रहरीले छुटाएका बालकहरुमा पाँच वर्षका बालकहरु पनि थिए । कदुना प्रहरी प्रमुख अली जंगले बीबीसीलाई भने, ‘यी भवनमा संदिग्ध गतिविधि भैरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।’ उनले यो भवनलाई ‘टर्चर हाउस’ र गुलामीको केन्द्र बताए । 

छापा मारिसकेपछि आठ संदिग्ध व्यक्तिहरुलाई गिरफ्तार गरिएको छ, जसमा धेरै शिक्षक छन् । 

छुटाइएका बन्धकहरुमा केही भोकमरीको चपेटामा र केहीको शरीरमा प्रताडनाको चिह्न पनि प्रस्टै देख्न सकिन्थ्यो । 

वर्षाैँदेखि चलिरहेको थियो शोषण 

केही बन्धकहरुले त्यहाँ आफूहरु कैँयौ वर्षदेखि बन्धक रहेको र आफूहरुसँग अनेक किसिमका शोषण गरिँदै आएको बताए । 

केही बालकहरुले आफूहरुलाई आफन्तले नै त्यहाँ ल्याएको बताए । उनीहरुलाई यो भवनमा कुरानको शिक्षा दिने बताइएको थियो । 

दुई जना बालकले आफूहरु बुर्किना फासोका बासिन्दा भएको र आमा–बुवाले त्यहाँ पठाएको बताए । प्रहरीका अनुसार बाँकी बालकहरु नाइजेरियाका बासिन्दा हुन् । 

यो इलाकामा इस्लामी स्कूल निकै लोकप्रिय छन् तर यहाँ अनेक किसिमका प्रताडनाका आरोप लाग्दै आएको थियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया