नेपाल एअरलाइन्स ‘असफल’ भैरहँदा बेइजिङ उडानको अन्तिम तयारी गर्दै हिमालय एअरलाइन्स

 असोज १२, २०७६ आइतबार १७:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लामो समयदेखि तयारी गरेजस्तो देखिए पनि नेपाल वायुसेवा निगम चीन उडानमा असफल भैरहेको छ ।

चीनसँग हवाइ सम्झौता नवीकरण भएपनि निगमले चीनका विमानस्थलमा स्लट पाएका छैनन् । निगमका वाइडबडी जहाज छोटो दुरीमा उडिरहेका छन् । निगमले पटक पटक ‘छिट्टै चीन उडान गछौं’ भनेपनि सफल हुन सकेको छैन ।

‘चीनले सेफ्टी अडिटको कारण देखाएर उडान अनुमति दिएको छैन, नोभेम्बरको अन्तिममा उनिहरुको टोली अडिटको लागि नेपाल आउने भनेको छ, अडिट नगरी निगमको चीन उडान हुँदैन’, निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता गणेश चन्दले भन्नुभयो ।

निगमको सेफ्टी अडिटको लागि चीनसँग प्रारम्भिक सम्झौता भैसकेको छ । चीनका विमानस्थलले स्लट दिन आनाकानी गरे साउदी अरेबियाको रियाधमा उडानको प्रक्रिया सुरु गर्ने पनि चन्दले जानकारी दिनुभयो ।

हिमालय एअरलाइन्सको अन्तिम तयारी

सरकारी कम्पनी चीन उडानमा असफल भैरहँदा निजी क्षेत्रको हिमालय  एअरलाइन्सले भने अक्टोबर अन्तिम हप्ताबाट बेइजिङ उडान गर्ने तयारी थालेको छ । 
‘हामीले अक्टोबरको अन्तिमदेखि उडान भर्ने तयारी गरेका छौँ, तर ठ्याक्कै मिति तोकिएको छैन, सम्भवत २७ तारिखदेखि हुन सक्छ’, हिमालय एअरलाइन्सकी ब्रान्ड विस्तार शाखाकी प्रमुख उज्ज्वला दलीले भन्नुभयो, ‘बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हामीले स्लट पाइसकेका छौँ, अक्टोबर अन्तिम सातादेखि दैनिक उडान हुनेछ ।’

बेइजिङ उडानको अन्तिम तयारी गरिरहेको हिमालयले नयाँ जहाज पनि ल्याउने तयारी थालेको छ । 
सन २०१६ बाट अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन । एअरलाइन्सले अहिले अबुधाबी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ ।

कम्पनीको स्वमित्व परिवर्तन, लोगो फेरियो

हिमालय एअरलाइन्सको स्वामित्व परिवर्तन हुने भएको छ । अहिले तिब्बत एअरलाइन्सको झण्डै ४९ प्रतिशत शेयर रहेको हिमालयन एअरलाइन्समा अब तिब्बत सिभिल एभिएसन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने एअरलाइन्सले जनाएको छ ।

नयाँ कम्पनी पूर्ण सरकारी स्वामित्वको भएको पनि एअरलाइन्सले जानकारी दिएको छ । तिब्बत एअरलाइन्स अर्ध सरकारी कम्पनी हो । हिमालयन एअरलाइन्समा अब ६५ प्रतिशत चिनियाँ र ३५ प्रतिशत नेपाली कम्पनी यती वर्ल्ड इन्भेष्टमेन्ट प्रालिको लगानी रहनेछ ।

स्वामित्व परिवर्तन भएसँगै एअरलाइन्सले लोगो पनि परिवर्तन गरेको छ । लोगोमा ३ वटा हिमाल छन भने बीचको हिमालको चुचुरोमा गरुडको टाउको देखिन्छ । एअरलाइन्सले आइतबार नयाँ लोगो सार्वजनिक गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया