नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी

 असोज १३, २०७६ सोमबार ६:४५:२६ | रासस
unn.prixa.net

काठमाण्डौ –  केही दिनअघि काठमाण्डौको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रुलाई सास्ती भयो । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । 

यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाउनुभयो । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ । 

‘नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भन्नुभयो । उहाँका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रूपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्‍याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्नुहुन्छ, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । 

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरू बिग्रिँदा यात्रुले जामको समस्या झेल्नुप¥यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ । 

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्‍याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उक्त ¥याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ । 

यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरूले यो सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरूलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ । 

एकै दिन एक लाख ५६ हजार यात्रु बाहिरिए

प्रहरीका अनुसार आइतबार उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए । ‘यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ’, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो ।

घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले चापको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ । 

व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरू रहने गरेका छन् । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ । 

मादक पदार्थ सेवन (मापसे)विरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भन्नुभयो, ‘अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ । मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरू बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,’ ढकालले भन्नुभयो । 

प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उहाँले बताउनुभयो । ‘अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ’, महाशाखा प्रमुख ढकालले थप्नुभयो । ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयम्सेवक र कलाकारहरूले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया