‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा पहिलाे पटक भाग लिन नेपाली सेना चीन जाने

 असोज १५, २०७६ बुधबार १४:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । 

नेपाली सेनाले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी चीनको हुवे प्रान्तकाे उहानमा आउँदो कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागेको औपचारिक जानकारी गराएको हो । 

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्को आयोजनामा यो वर्ष विश्व सैन्य खेलकुद प्रतियोगिता चीनको युहान प्रान्तमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेल हुनेछन् । जसमा एक सय ५ राष्ट्रका १० हजार सात सय १९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताउनुभयो । 

प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच भलिबल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ । प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया