हराएका ४ सय ८८ महिला तथा बालबालिका फेला

 असोज २२, २०७६ बुधबार १९:१४:३३ | रासस
unn.prixa.net

तनहुँ – जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८  महिला तथा बालबालिका फेला परेका हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४/७५ मा २५६, ०७५/७६ मा २२२ र ०७६/७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन् । 

सिलवालका अनुसार ०७४/७५ मा हराएकामध्ये छ र ०७६/७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन् । “विसं ०७४/७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो । कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । 

प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ । त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ ।

मुद्दा दर्ता बढ्दै

जिल्ला प्रहरी कार्यालय तनहुँमा बर्सेनि मुद्दा दर्ताको चाप बढ्दै गएको छ । प्रहरी कार्यालयको त्रिवर्षीय मुद्दा दर्ताको विवरणले जिल्लामा वर्षेनी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । आव २०७३/७४ मा ३७९ मुद्दा दर्ता भएको कार्यालयमा ०७४/७५ मा ३७८ र ०७५/७६ मा ४३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक सिलवालका अनुसार चालू आव ०७६/७७ मा पनि ८४ वटा मुद्दा दर्ता भइसकेको छ । दर्ता भएका मुद्दामध्ये आव ०७३/७४ मा ३७८ फछ्र्यौट भई १, ०७४/७५ मा ३०७ फछ्र्यौट भई ७१ र ०७५/७६ मा ३६७ फछ्र्यौट भई ५६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ भने चालू आवमा ५४ फछ्र्यौट भई ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । कार्यालयमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती चोरी, लागुऔषध लगायतका मुद्दा बढिरहेको सिलवालले बताउनुभयो ।

गएको आर्थिक वर्षमा प्रहरी कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सवारी ज्यान र लागुऔषधको रहेको छ । यो अवधिमा सवारी ज्यानको ५१ र लागुऔषधको ४४ मुद्दा दर्ता भएको थियो । उक्त दुवै मुद्दा फछ्र्यौट भइसकेको सिलवालले जानकारी दिनुभयो । 

त्यस्तै सोही अवधिमा जबर्जस्ती करणीको २२, जबर्जस्ती करणी उद्योगको छ, कर्तव्य ज्यानको १०, नकबजनी चोरीको १५, अभद्र व्यवहारको ३८, सार्वजनिक उपद्रयाइको २० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजा फँडानी, विद्यालयमा सचेतना अभियान, लागुऔषध नियन्त्रण लगायतलाई प्राथमिकता दिएको छ ।

साथै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्लास्तर समिति बैठक, पालिकास्तरीय बैठक, अभिमुखीकरण लगायतका कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया