शहरको मुहार दीर्घकालका लागि यसैगरी फेरौँ : रवीन्द्र मिश्र

 असोज २४, २०७६ शुक्रबार १५:५५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गर्न सरकारलाई सुझाव दिनुभएको छ । 

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला विगतमा जस्तै बढी उत्साहित भएर भ्वाम्लाङ्गै अंगालो हाल्ने काम नगर्न पनि मिश्रले सरकारलाई सचेत गराउनुभएको छ ।राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाण्डौ आउँदै हुनुहुन्छ । राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै उहाँको स्वागतका लागि रातारात काठमाण्डौ सजाइएको भन्दै उहाँले यसलाई स्थायी बनाउन सक्नुपर्नेमा जोड दिनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति सीको भ्रमणको सन्दर्भ पारेर आफ्नो सुझाव लेख्दै मिश्रले पाहुना आउँदा मात्रै सिंगार्ने भन्दा पनि स्थायी तरिकाले संरचना निर्माण गर्ने तर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । 

उहाँले चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आइरहेको भन्दै त्यस्ता पुराना अनुभवबाट भने हामी सावधान हुनु पर्नेमा पनि जोड दिनुभएको छ ।  

मिश्रले राष्ट्रपति सीको भ्रमणको सन्दर्भ पारेर दिएकाे ८ बुँदे सुझाव

१. राष्ट्रपति सी चिनफिङलाई हृदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काइरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोसिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दीर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘सृङ्गार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सिर्जना हुन्छ।

२. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लाङ्गै अँगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौँ।

३. बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटता  (equi-proximity) को दीर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौँ।

४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चीन र भारत दुबैको लागि बढेको प्रस्टै देखिएको छ। यो चुनौती र अवसर दुवै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ ।

५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि वैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धि नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौँ। राष्ट्रपति सिको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका सम्झाैताहरू लामो समयसम्म अलपत्र पर्नेछन्।

६. चिनियाँ सहयोगका कारण कैयौँ देशहरू ऋणको पासोमा परेका समाचार आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ।

७. चीनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्याउने छ। तर त्यो हाम्रो कुटनीतिको स्तरमा भर पर्नेछ।

८. भारत र चीन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छस् पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थकेन्द्रित राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौती त्यही नै हुनेछ।

भ्रमण पूर्ण रूपमा सफल रहोस्, नेपाल-चीन सम्बन्ध प्रगाढ र उपलब्धिमूलक होस् !
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया