रेलको अध्ययन र सुरुङमार्ग निर्माणमा चीनले सघाउने, योजना पूरा गर्न राष्ट्रपति सीको जोड

 असोज २६, २०७६ आइतबार ८:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार महत्वपूर्ण भेटवार्ता हुँदैछ । भेटवार्तापछि पूर्वाधार विकासमा सम्झौता हुने कार्यक्रम छ । सम्झौतामा रेलमार्गको सम्भाव्यता अध्ययन र काठमाण्डौ–केरुङ सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्ने भएको छ ।

चीनले केरुङबाट काठमाण्डौ जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले सघाउने भएको छ । काठमाण्डौको टोखाबाट नुवाकोटको छहरेसम्म जोड्ने एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा चीनले सघाउने भएको हो । यस्तै रसुवाको बेत्रावतीबाट स्याफ्रुबेसी जोड्ने अर्को सुरुङमार्ग बनाउन पनि चीनले सहयोग गर्न लागेको छ । आइतबार दुवै देशबीच हुने उच्चस्तरीय वार्तामा यसबारे समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

यस्तै केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणमा पनि सहयोग गर्ने चीनले वचन दिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले केरुङ हुँदै काठमाण्डौ जोड्ने रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाल भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्ने क्रममा पनि राष्ट्रपति सीले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको छ ।

‘हामी चीन–नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं, काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं । अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं’ राष्ट्रपति सीले भन्नुभयो ।

यसअघि राष्ट्रपति भण्डारीले रात्रिभोजलाई सम्बोधन गर्दै नेपाली नागरिकले केरुङदेखि काठमाण्डौ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताउनुभएको थियो । उहाँले नेपाली नागरिकको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीको सम्बोधन सुनेपछि चिनियाँ राष्ट्रपति सीले सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।

करिब एक वर्षअघि चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाण्डौ रेलमार्गको प्रारम्भिव अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यही प्रदिवेदनको आधारमा डीपीआर र लगानीको ढाँचाबारे दुई देशबीच छलफल हुन लागेको छ । करिब ७२ किलोमिटर लामो हुने केरुङ–काठमाण्डौ रेलमार्गको लागत ३ खर्ब र निर्माणका लागि ८ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

अरु परियोजनामा पनि हस्ताक्षर हुने सम्भावना

रेलको सम्भाव्यता अध्ययन र सुरुङमार्गसँगै अरु केही परियोजनामा पनि हस्ताक्षर हुने सम्भावना छ । नेपालले चीनसँग सहयोगका लागि अन्तरदेशीय प्रसारण लाईन, विभिन्न नाकाको स्तरबृद्धि र सुधार, चीनसँगका नाका जोड्ने विभिन्न करिडोर निर्माण र स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय स्थापनमा सहयोग लगायतका एक दर्जन आयोजना प्रस्ताव गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका प्रतिनिधिमण्डलबिच थप छलफल गरी यीमध्ये केही परियोजनाका सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

नेपालको आर्थिक विकासमा चीन साझेदार, भूपरिवेष्टितबाट भूजडित बन्न सघाउने

चिनियाँ राष्ट्रपति सीले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताउँदै नेपाललाई भूपरिवेष्टितबाट भूजडित देश बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाण्डौसम्म सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा अर्थात भूपरिवेष्टितबाट भूजडित देशमा रूपान्तरण हुन चीनले सघाउने पनि बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रूत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘चीन र नेपालबीच कुनै समस्या नभएको मित्रता मात्र छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ,’ उहाँले भन्नुभयो, ‘दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’

उहाँले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले चीनबाट धेरैभन्दा धेरै बौद्ध धर्मावलम्बीहरु आगामी दिनमा नेपाल आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सीले आफू शरद ऋतुमा नेपाल आएको, यहाँ हजारौं फूल फुलेको र नेपालको राजनीतिक स्थायित्व र सामाजिक सद्भाव देख्दा खुसी लागेको बताउनुभयो । नेपालका बढीभन्दा बढी सहरलाई चिनियाँ सहरहरूसँग भगिनी सम्बन्ध स्थापित गर्न चाहेको उल्लेख गर्नुभयो ।

सीले जलवायु परिवर्तनबाट परिरहेको असरका सन्दर्भमा नेपालको मागलाई सम्बोधन गर्ने र सगरमाथासहित हिमालय क्षेत्रको रक्षा गर्न सदैव तत्पर रहेको बताउनुभयो । यो भ्रमणबाट चीन र नेपालको सम्बन्धको नयाँ खाका बन्ने उहाँको विश्वास छ ।

‘योजना पूरा गरेरै छोडौँ, चीनमा पनि यस्तै गरेका छौँ’

नेपालको आर्थिक र पूर्वाधारमा विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रममा चिनियाँ राष्ट्रपति सीले योजना कार्यान्वयनमा पनि जोड दिनुभएको छ । शनिबार रात्रिभोजलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले चीनमा पनि आफूहरुले थालेको योजना पूरा गरेर मात्र छाड्ने गरेको भन्दै नेपालमा पनि यस्तै गर्न सुझाव दिनुभएको हो ।

‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौँ । हामीले चीनमा पनि यस्तै गरेका छौँ । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष्य । यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष्यचाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया