हत्याको आरोपमा पक्राउ परेका सांसद आलम निलम्बित, यस्ताे छ आराेप

 असोज २७, २०७६ सोमबार १५:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।

२०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्याको आरोपमा आलमलाई प्रहरीले आइतबार रौतहटको राजपुर नगरपालिका–१, इद्रिश गेटबाट पक्राउ गरेको थियो ।

सोमबार संसद सचिवालयका सचिव डाक्टर भरतराज रेग्मीले सूचना प्रकाशित गर्दै रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद मोहम्मद अफताब आलम कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेकाले प्रतिनिधि सभा नियमावली–२०७५ को नियम २४४ को उपनियम (३) बमोजिम निलम्बन गरिएको बताउनुभयो ।

आलममाथि ८ जनालाई जलाएर हत्या गरेको आरोप

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत्र २७ गते शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलमको घर नजिकैको  स्थानमा विस्फाेट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । विस्फाेटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन । तर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्मद अफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका  थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आलम पूर्व श्रम मन्त्रीसमेत हुन् । २०६४ सालको संविधान सभा चुनावको एक दिनअघि रौतहटको राजपुरमा रहेको आलमको घरमा बम विस्फोट भएको थियो ।

आलमले नै केही व्यक्तिलाई प्रयोग गरी बम बनाउन लगाएको र त्यही क्रममा प्राविधिक गडबडीले बम विस्फोट भएको आरोप छ । बम बनाउने क्रममा सरअठाका ओसी अख्तर, पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित आठ जना गम्भीर घाइते भएको र ती आठै जनालाई बारेमा हालेर इँटाभट्टामा जलाएर हत्या गरेको गम्भीर आरोप आलममाथि लागेको छ ।

पीडित परिवारका सदस्यले मोहम्मद अफताब आलमसहित मोबिन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय रौतहटले २०६५ असार १ गते आरोपी भदईलाई पक्राउ गर्यो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा आलमसहित ४ जनालाई नै प्रहरीले उपस्थित गरायो । सरकारी वकिलको कार्यालयमा आफूहरुमाथि लागेको आरोप इन्कार गरेपछि प्रमाण अभावमा मुद्दा चलाउन नसकिने भन्दै सरकारी वकिलले राय दिएपछि सबै रिहा भएका थिए ।

पीडित पक्षले सरकारी वकिलको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएपछि २०६९ साल जेठ १६ गते घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न र कानुनबमोजिम कारबाही गर्नू भन्दै सर्वोच्च अदालतले आदेश दियो ।

झण्डै ८ वर्षअघि नै सर्वोच्चको आदेश जारी भए पनि घटनाका मुख्य आरोपी आलम पक्राउ परेका थिएनन् ।

घटनाका प्रमुख अनुसन्धान अधिकृत तथा रौतहटका प्रहरी उपरीक्षक(एसपी) भुपेन्द्रबहादुर खत्रीले मुद्दा चलाउन थप आदेशको आवश्यकता परेको भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा गएको जेठ १४ गते पत्र पठाउनुभयो । त्यही दिन नै जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अनुसन्धान गर्न आदेश दिइयो ।

त्यसपछि घटनास्थलको आसपासका केही स्थानीयसँग जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सोधपुछु गर्यो । उनीहरुको बयानका आधारमा आइतबार जिल्ला अदालत रौतहटले मोहम्मद अफताब आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया