बजारमा तिहारको चहलपहल बढ्यो, भाइ मसला किन्ने बढी

 कात्तिक ८, २०७६ शुक्रबार १३:१२:५७ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाण्डौको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन । 

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनकले थप चहलपहल बढेको छ । तिहारमा टीका लाउन/लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसके । 

चहलपहल बढे पनि व्यापारीहरु भने पहिले वर्षको तिहारको तुलनामा त्यति व्यापार नभएको गुनासो गर्छन् । केहीलाई छोडेर धेरै व्यापारीहरुले व्यापार केही घटेको बताए । बर्सेनि व्यापार गर्नेको संख्या बढेको र फुटपाथको व्यापारले पसल गरेर व्यापार गर्नेलाई असर परेको व्यापारी बताउँछन् । 

ढाका टोपीको व्यापार पनि उस्तै 

इन्द्रचोकको छेवैमा ढाका टोपीको पसल थाप्नुभएकी मुना काफ्लेले पोहोर र अहिलेको तिहारको तुलनामा व्यापार उस्तै रहेको बताउनुभयो । ‘फोहोर र अहिलेको तिहारमा टोपीको व्यापार उस्तै छ । घटेको पनि छैन, बढेको पनि छैन । तिहार आउन केही दिन बाँकी छ, हेरौँ व्यापार बढ्छ कि ?’

तिहारको अवसर पारेर असनको एउटा कुनामा भेटिनुभयो ढाका टोपी पसल थापेर बस्नुभएका शुभराम नेपाल । ‘पछिल्लो समय ढाका टोपी लगाउने चलन नै छ । तिहारमा दाइभाइलाई ढाका टोपी किन्दा केही महिलाले आफ्ना लागि पनि किन्ने गरेका छन् । व्यापार बढे पनि टोपीको मूल्य धेरै भएको गुनासो गर्छन् तर राम्रो टोपी अलि महँगो नै हुन्छ’ उहाँले भन्नुभयो ।  

‘३० रुपैयाँमा बेच्दा पनि माला महँगो भयो भन्छन्’ 

तिहारमा मखमली मालाको झन महत्व छ । मखमलीको फूलजस्तै दिदीभाइको सम्बन्ध र माया कहिल्यै नओइल्याउने विश्वास रहँदै आएकाले पनि तिहारमा यसलाई जरुरी नै मानिन्छ । 

यतिबेला असनका चोकचोकमा मखमली र सयपत्रीको माला झकिझकाउ छन् । असन मन्दिर नजिकै हातमा मखमलीको माला बेच्न बस्नुभएकी रामेछापकी रमा श्रेष्ठ भेटिनुभयो । धेरै वर्षदेखि मखमलीको माता बेच्दै आएको उहाँले बताउनुभयो । एउटा मालाको ३० रुपैयाँ मात्र भन्दा पनि अलि महँगो भएन भनेर गुनासो गर्ने भेटिएको उहाँ भन्नुहुन्छ । 

‘फोहोर जस्तै यसपाली पनि ३० रुपैयाँमा बेच्दा पनि महँगो भयो भन्छन् । काभ्रेको माला यहाँसम्म ल्याउन कति झन्झट छ, यो चाहिँ कसैले बुझ्दैनन्’, उहाँले गुनासो गर्नुभयो । 

सजाउने फूलको दैनिक औसत व्यापार १० देखि १५ हजार 

असन मन्दिरको ठिक अघिल्तिर विभिन्न थरीका सजाउने फूलले झकिझकाउ पारिएको पसल छ । पसलका सञ्चालक प्रकाश थापा तिहारको व्यापारबाट भने सन्तुष्ट नै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यही १० देखि १५ हजारसम्म हुन्छ । अहिले त व्यापार ठिकै छ । अझै केही दिन बाँकी छ, व्यापार केही बढ्छ कि ?’

बजारमा सजाउने फूलदेखि झिलिमिली बत्तीको पसल पनि प्रशस्त छन् । झिलिमिली बत्तीदेखि सजाउने फूल किन्नेको पनि बाक्लै भिड छ । तिहारमा मात्र भए पनि सबैलाई आफ्नो घर सिंगार्न र सजाउन रहर हुन्छ, यही कारणले गर्दा पनि तिहारमा सजाउने फूल र रंगीचंगी बत्तीको व्यापार राम्रै हुने व्यपारीहरु बताउँछन् । 

नरिवल व्यापारी भन्छन्– व्यापार ‘खत्तम’ छ    

यस पटकको तिहारमा जट्टा नरिवलको व्यापार धेरै घटेको व्यापारी विकास साहले गुनासो गर्नुभयो । ‘के व्यापार बढ्नु, उल्टै घटेको छ । नरिवलको व्यापार त खत्तम छ । अहिले चौपट छ’ उहाँले भन्नुभयो । 

दिनमा कतिको व्यापार हुन्छ भनेर भन्ने अवस्था नभएको उहाँले भन्नुभयो । तिहारजस्तो बिक्री हुने समयमा पनि सोचेकोजस्तो व्यापार नभएकोले आफू छक्क परेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘खोइ हेरौँ, अब एक/दुई दिनमा व्यापार बढ्ला कि ?’

भाइ मसला किन्ने बढी 

भाइ मसला पाइने पसलमा भने व्यापारीलाई भ्याईनभ्याई छ । सानादेखि ठूला मसलाको प्याकेट किन्नेको भिड बढेको छ । पाँच सयदेखि तीन हजार रुपैयाँसम्मको मसला किन्ने मानिस भेटिएको असन चोकका व्यापारी राजेश तुलाधरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘तिहारमा भाइ मसलाको चलनले गर्दा पनि व्यापार बढेको छ । सबैले आ–आफ्नो अवस्थाअनुसार मसला किन्ने गरेका छन् । कोहीले हामीले नै तयार पारेको मसला लाने गरेका छन् भने कोहीले खुला रुपमा आफैले तयार पारेर लाने गरेका छन् ।’

अर्का व्यापारी हरि डंगोलले यही सिजनमा आधाभन्दा बढी व्यापार हुने गरेको बताउनुभयो । उहाँका अनुसार अफसिजनको व्यापार तिहारले धान्दै आएको छ । ‘तिहार भनेको मसला भाइ मसला भनिन्छ, त्यसैले व्यापार राम्रो छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया