नेपाली भूमि मिचिएकोमा डाक्टर केसी स्तब्ध : अनशन स्थगित

 कात्तिक २६, २०७६ मंगलबार १६:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेलधुरा – डाक्टर गोविन्द केसीले १७औँ अनशन स्थगित गर्नु भएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बस्नु भएका डाक्टर केसीले मंगलबार अनशन स्थगित गर्नु भएको हो ।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभागसमेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै उहाँले अनशन स्थगित गर्नु भएको हो । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताउनु भएको छ ।

उहाँले प्रेस विज्ञप्तिमा भन्नु भएको छ, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गर्नु भएको छ, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’

स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरुको लडाइँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने पनि डाक्टर केसीले चेतावनी दिनु भएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया