मन्त्री बन्नेको नाम गोप्य, प्रधानमन्त्री आफैले घोषणा गर्ने

 मंसिर ४, २०७६ बुधबार १६:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मन्त्रिपरिषद पुनर्गठनकाे तयारी अन्तिम चरणमा रहे पनि मन्त्री बन्नेहरुकाे नाम भने गोप्य राखिएकाे छ ।

नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद आजै पुनर्गठन हुन सक्ने बताउनु भएकाे छ । ‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरेअनुसार नै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ’, सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भए पनि गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहानै अर्का अध्यक्ष दाहाललाई लिएर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग पनि परामर्श गर्नु भएको थियो । 

बुधबारको सचिवालय बैठकले अध्यक्षद्वको कार्यविभाजनको टुंगो पनि लगाएको छ । बैठकले बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया