‘बोक्साबोक्सी’ भन्दै दम्पतीलाई सामाजिक बहिष्कार, टोल सुधार समितिका अध्यक्ष पक्राउ

 मंसिर ८, २०७६ आइतबार १३:३८:५२ | उषा तामाङ
unn.prixa.net

दोलखा – विगु गाउँपालिको दुर्गम स्याँखु गाउँमा एक दम्पती सामाजिक बहिस्कारमा परेका छन् । स्याँखु गाउँ टोल सुधार समितिको भेलाले उनीहरुलाई ‘बोक्साबोक्सी’को आरोप लगाउँदै सामाजिक बहिष्कार गरेको हो ।

पीडित दम्पतीमाथि गाउँलेहरुले ‘बोक्साबोक्सी’को आरोप लगाएर गाउँबाट निकालिदिने भन्दै धम्की दिने, कथित ‘इन्द्रजाल’ किताब उपलब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेका छन् ।

गएको मंसिर १ गते स्याखु टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठको अध्यक्षतामा गाउँका एक सय १३ जना सहभागी भेलाले बिहान आठ बजेदेखि बेलुकी ५ बजेसम्म ‘बोक्साबोक्सी’को आरोपसहित यातना दिएका थिए । गाउँलेहरुले दबाब दिएर ‘बोक्साबोक्सी’ भएको स्वीकार्न ल्याप्चे लगाउन बाध्य पारिएको पीडित दम्पतीले बताएका छन् ।

दम्पतीलाई समितिले बिहे, भोजलगायतका सामाजिक कार्यमा समेत प्रतिबन्ध लगाएको छ  । सामाजिक बेइज्जतपछि टोल सुधार समितिले गरेको निर्णय नम्बर १ मा ‘यी दुई दम्पतीले मनमानी कुनै ठाउँमा गएर तलमाथि गरेमा हामी एक सय १३ जनाको घरधुरी जिम्मेवार हुनेछैन’ भनी हस्ताक्षरसमेत गरिएको छ ।

घटना गएको मंसिर १ गतेको भए पनि पीडितका जेठा छोरा काठमाण्डौबाट आएर शुक्रबार मात्रै स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ र धामीझाँक्रिसहित ९ जनाविरुद्ध जाहेरी दिएका थिए । जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिंगटीको प्रहरी टोलीले शनिबार नै श्रेष्ठलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । श्रेष्ठलाई आइतबार जिल्ला प्रहरी कार्यालय दोलखा ल्याइएको प्रहरी निरीक्षक (इन्सपेक्टर) सुनजित तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिनुभयो । ऐनमा कसुर अनुसार ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ देखि ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया