सुन्निएको खुट्टा जँचाउन जाँदा डाक्टरले भने–दुवै मिर्गौला फेल भएको छ

 मंसिर १८, २०७६ बुधबार १२:१९:४५ | सन्जिता देवकोटा

झापा – ‘तपाईँको त दुवै मिर्गौंला फेल भएको छ, राम्रो अस्पताल गएर देखाउनुस्,’ छत्रबहादुर गताललाई डाक्टरले जतिसक्दो छिटो मिर्गौलाको उपचार थाल्न सुझाए। 

तर सुन्निएको खुट्टा जँचाउन अस्पताल पुगेका उहाँलाई दुवै मिर्गौलाले काम गर्न छाडेको कुरामा कसरी विश्वास गर्न गाह्रो भयो । अघिल्लो दिन मात्र कतारबाट फर्किएको । खुट्टा सुन्निनुबाहेक असहज केही भएकै छैन । खुट्टा सुन्निदा पनि मिर्गौला फेल हुन्छ र ?

छत्रबहादुरको मनमा यही प्रश्न हुँडलियो । तर दुवै मिर्गौला फेल भएको छ भनेर डाक्टरले झुटो त के बोल्थे र ! सत्य स्वीकार्न छत्रबहादुरलाई पो गाह्रो भएको थियो । 

१२ वर्षको परदेश यात्रा बिट मारेर घरको आँगन टेक्दा खुशीले छाती फुलेको थियो । गाउँठाउँमै व्यवसाय गर्ने, बिरामी छोराको उपचार गर्ने यस्तै योजना थिए । तर नियतीले छत्रबहादुरलाई एउटा संघर्षको बिट मार्न नपाउँदै फेरि जीवन र मृत्युको दोसाँधमा पुर्याइदियो । 

गरिबीलाई धकेल्न कतार पुगेका छत्रबहादुर गरिबीले नै आफ्नो ज्यान लिन्छ की भनेर डराइरहनुभएको छ अहिले । फेरि एकपटक सद्दे जीवन जिउन पाउँ भन्दै कामना गरिरहनुभएको छ ।

१२ वर्षअघि

सन् २००७ । त्योबेला घरमा बिहान खाए बेलुका के खाउँ भन्ने घरको अवस्था । भोक टार्न ऋण पाउन मुस्किल । तर विदेश जान्छु भन्दा ऋण दिनेहरु जति पनि । छत्रबहादुरलाई पनि कमाउन परदेश जानु नै बेश लाग्यो । हातमा सीप थिएन । आफूले गर्ने काम र जाने देशको बारेमा पनि थाहा थिएन । 

निर्माण क्षेत्रमा लेबरको काम मिल्यो । इँटादेखि बालुवासम्म बोक्नुपथ्र्यो । तलब भने महिनाको ६ सय कतारी रियाल । तर घरको दुःख अघिल्तिर कतारको गर्मी र दुःख कम लाग्थ्यो उहाँलाई । लेबरकै काममा १३ वर्ष बिताउनुभयो । फर्किने बेलामा १ हजार कतारी रियाल तलब पुगेका थियो ।  

परदेशमा १२ वर्ष बिताउँदा उहाँले पाँचथरबाट परिवारलाई झापाको बिर्तामोडमा सार्नुभयो । कतारकै कमाइले एकतले घर पनि बनाउनुभयो । घरखर्च, बिरामी छोरा र बुवाआमाको उपचार खर्च पनि गर्नुभयो । 

कामको दुःख र दुःख अनुसारको पसिनाको मूल्य नपाउँदा उहाँलाई घर फर्कौं, फर्कौं नलागेको हैन । तर मुटुको बिरामी छोरो र रोगले गलेका बुवाआमाको उपचारका लागि भए पनि कमाउनु थियो । उहाँ फर्कन सक्नुभएन ।

यो वर्ष भने छत्रबहादुरले जसरी पनि फर्कने निर्णय गर्नुभयो । घरमै गएर व्यवसाय गर्ने योजना पनि बनाउनुभएको थियो । 

‘दुई लाख रुपैयाँ जति बचाएको थिएँ, त्यही पैसाले कुखुरापालन र बाख्रा पालन गर्ने मेरो योजना थियो, तर के गर्नु ज्यान यस्तो भएको रहेछ,’ छत्रबहादुर निराश देखिनुहुन्छ ।

गएको असारमा उहाँलाई गाडीले ठक्कर दिएको थियो । त्यसबेलादेखि नै खुट्टा दुख्न थालेको हो । बिस्तारै सुन्निंदै पनि गयो । घर फर्कने निर्णय गरिसकेकाले दुखाई बेवास्ता गर्दै काम गर्नुभयो । अहिले उहाँलाई लाग्छ, अलिअलि दुख्दा नै जँचाउन जान पाएको भए !

गएको साउनमा छत्रबहादुर घर फर्कनुभयो । एक महिनाभन्दा लामो समय भइसकेको थियो खुट्टा सुन्निएको थियो ।

 कहिल्यै आफूलाई बिसञ्चो छ नभनेका श्रीमानको खुट्टा बेस्सरी सुन्निएको देख्दा श्रीमती संगीता आत्तिनुभयो । गाडीले ठक्कर दिएको थियो भनेर छत्रबहादुरले श्रीमतीलाई  सम्झाउन खोज्नुभयो । तर संगिताले मान्नुभएन । भोलिपल्टै अस्पताल पुर्‍याउनुभयो । 

खुट्टा सुन्निएको देखेर डाक्टरले लक्षणहरु सोधे । त्यसपछि के के जाँच गरे संगिता जान्नुहुन्न । रिपोर्ट हेर्दै डाक्टरले भने, ‘दुवै मिर्गौला फेल भएको छ, त्यही भएर खुट्टा सुन्निएको हो ।’

‘त्यस्तो बेस्सरी खुट्टा सुन्निएको छ, अब गाडीले ठक्कर दिएर हो भन्नुहुन्छ,’ संगिता भन्नुहुन्छ, ‘मेरै करले आएको भोलिपल्टै अस्पताल लैजाँदा त त्यस्तो भइसकेको रहेछ ।’ 

यस्तो हुँदा पनि श्रीमानले किन नभनेका होलान् ? अब के गर्ने ? संगिताको मन गाँठो पर्‍यो । दुवै मिर्गौला बिग्रनेगरी परदेशमा श्रीमानले के के दुःख गरे आँखाले देख्ने कुरा भएन ।

मलाई दुःख भयो भनेर छत्रबहादुरले कहिल्यै सुनाउनुभएन । संगिताको आँखा भरिए । तर अस्पतालमा अरुको अघिल्तिर कसरी रुनु । आँसु थामेरै बस्नुभयो । 

छत्रबहादुरको मनले त डाक्टरको कुरामा विश्वास गर्न मानेकै थिएन । एक्कासी कसरी यस्तो हुन्छ ? प्रश्न माथि प्रश्न उब्जिएको थियो मनमनै । ‘मर्छु होला भन्ने लाग्यो मनमा, तर सोचें अहिले त मिगौंला फेरेर पनि त मानिसहरु बाँचेका छन्,’ छत्रबहादुरमा बाँच्ने झिनो आशा पलायो । 

श्रीमती संगिताले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर ल्याउनुभयो । जाँच गराउनुभयो । डाक्टरले जतिसक्दो छिटो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिए । 

मिर्गौला दिने कसले ?

संगिताले श्रीमानका लागि आफैं मिर्गौला दिन्छु भन्नुभयो । तर जाँच गर्दा संगिताको मिर्गौला मिलेन । अब फेरि अर्को आपत आइलाग्यो । ‘दाजुले दिने कुरा छ तर निश्चित भएको छैन, अब हेरौं मेरो नमिलेपछि दाजुहरुले भाइलाई मर्न त दिनुहुन्न होला नि’ संगितमा भन्नुहुन्छ । 

डायलासिस भइरहेको छ । तर आफ्नै खर्चमा । छत्रबहादुरले कतारबाट फर्किंदा ल्याएको दई लाख रुपैयाँ पनि सक्किइसक्यो । संगितालाई अर्को चिन्ता पनि छ, मुटुको रोगी छोराको । नियमित जाँच गराउनु पर्छ । औषधि नियमित खानुपर्छ । 

संगिता भन्नुहुन्छ, ‘सम्पतिको नाममा यो सानो घरबाहेक केही छैन, कसरी यतिका खर्च जुटाउने थाहा छैन ।’

पोहोरसाल छुट्टीमा आउँदा संगिताले फेरि नजानु भनेर हत्ते हाल्नुभएको थियो । तर छत्रबहादुरको मनमा एक वर्ष कमाएर फर्कन्छु भन्ने योजना थियो । ‘त्योबेला फर्किएर नगएको भए यो दिन देख्न पर्दैन थियो कि’ दुवैको मनमा तर्कना आउँछ । तर जिन्दगी आकश्मिकता हो । कुनै पनि कुरा सोचेर हुँदैन । 

‘गरिबलाई न बाँच्न सजिलो न मर्न,’ छत्रबहादुर आफैंसँग गुनासो गर्नुहुन्छ । आफू नभए परिवारको के होला छत्रबहादुर सोच्न पनि सक्नुहुन्न । ‘भएको पैसा सकिसक्यो, अब यो ज्यानलाई के ले बचाउला,’ छत्रबहादुरको मनले हरेश खान्छ । जे नहुनुपर्ने हो, भइसक्यो ।

‘फेरि सद्दे जीवन बाँच्न पाउँ, म बाँचे भने सबैलाई बचाउँछु,’ ३१ वर्षीय छत्रबहादुर दिनरात यही कामना गर्नुहुन्छ ।
 

अन्तिम अपडेट: जेठ ३१, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया