सुरक्षित वैदेशिक रोजगारीका लागि सजिलो प्रविधि : घरमै बसेर काम खोज्न र आवेदन दिन सकिने

 पुस ७, २०७६ सोमबार १६:१७:५४ | सन्जिता देवकोटा

काठमाण्डौ – रामेछापका विष्णुबहादुर खड्कालाई एजेण्टले माल्टामा एक्साभेटरको कामको लोभ देखाए । एक्साभेटर चलाउने सीप भएका बिष्णुबहादुर सीप अनुसारको काम पाइने भएपछि मख्ख पर्नुभयो । 

साउदी र कतारमा एक्साभेटर चलाएर फर्किएका विष्णुबहादुरलाई माल्टाको लोभ देखाउने व्यक्ति थिए, सामाखुशीमा रहेको ग्लोबल एलाईन्स सर्भिसेज प्रालिमा भेट भएका दीपकुमार अधिकारी । प्रक्रिया थाल्न भन्दै एजेण्ट अधिकारीले ९० हजार रुपैयाँ लिए । 

एजेण्टलाई ९० हजार बुझाएर विष्णुबहादुर गाउँमा थप रकम जुटाउन लाग्नुभयो । भिसा आउने बेला भयो भनेको केही दिनमै एजेण्ट बेपत्ता भए । ‘एक्कासी फोन भयो, धेरै दिन अफ भएपछि एकजना साथीलाई बुझ्न पठाउँदा म्यानपावर भागिसक्यो, दिपक त दुबई गयो पो भने,’ विष्णुबहादुर भन्नुहुन्छ, ‘त्यही भएर यहाँ दिपकको खोजीका लागि आएको हुँ ।’

विष्णुबहादुरलाई एजेण्टले माल्टामा काम मिलाइदिन्छु भन्दै ठगे । गोरखाका शान्तराम देवकोटालाई चाहिँ साउदीमा एक्साभेटर चलाउने काम भन्दै म्यानपावरले लेबरको  काममा पठाइदियो । 

एकलाख ३० हजार रुपैयाँ बुझाएर साउदी पुगेका शान्तरामलाई लेबरको काम गर्न मनै छैन । उहाँ जतिसक्दो छिटो स्वदेश फर्कन चाहनुहुन्छ । उहाँका भाइ हिरालाल देवकोटा दाइलाई स्वदेश फर्काउनको लागि विभाग धाइरहनुभएको छ । 

तर अब विदेशमा पाइने काम र हुने कमाइको बारेमा यसरी म्यानपावर र एजेण्टको भर पर्नु पर्दैन । वैदेशिक रोजगार विभागको वेबसाइटबाट घरमै बसीबसी विदेशमा पाइने काम, कमाई र त्यो काममा सुरक्षित रुपमा कुन म्यानपावरले कति लागतमा पठाउँछ भन्ने जानकारी पनि लिन सकिन्छ । त्यसका लागि आफू चनाखो हुनुपर्छ । 

अनलाइनबाटै काम खोज्ने र आवेदन दिन मिल्ने व्यवस्था 

पूर्व स्वीकृति भएका कामका बारेमा वैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np मा हेर्न मिल्छ । विभागको वेबसाइट खोलेपछि वैदेशिक रोजगारीको खोजीमा क्लिक गरेर आफ्नो बारेमा सामान्य मागेको जानकारी राख्नुपर्छ ।

त्यहाँ आफू जान चाहेको देश, सिटी र आफूलाई कुन काम चाहिएको हो भन्ने छनोट गरिसकेपछि कुन रोजगारदाताले कति सेवा सुविधा सहित श्रमिक माग गरेको छ भन्ने जानकारी पाइन्छ । र त्यो काममा नेपालबाट कुन म्यानपावर कम्पनीले पठाउँछ र कसलाई सम्पर्क गर्ने हो नम्बर पनि त्यहीँ उपलब्ध हुन्छ । 

भिडियाे हेर्नुहाेस् 

विभागले सुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देशभरका म्यानपावर कम्पनीले विदेशी रोजगारदाताबाट ल्याएको मागको विवरण राख्न थालेपछि घरमै बसेर काम खोज्न सकिने भएको हो । 

अब अनलाइनबाटै आफूलाई इच्छा लागेको काममा आवेदन दिन सकिने व्यवस्था पनि छिट्टै गरिने विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । ‘अब श्रमिकहरु विभिन्न चरणमा एजेण्टहरुबाट ठगिंदै आउन परेन, सिधै अनलाइनबाटै आफूलाई मन लागेको काममा आवेदन दिन सक्ने व्यवस्था गर्दैछौं ’

महानिर्देशक भूसालले भन्नुभयो, ‘कतिपय म्यानपावरले डिमाण्ड हुँदा पनि श्रमिकलाई छैन भन्ने, एजेण्टले पैसा उठाएर दिएकाको मात्र फारम भरिदिने, अन्तर्वार्तामा सहभागी गराउने गरेकाले पनि हामीकहाँ गुनासो आउँछ, अब त्यस्तो हुँदैन, यो अवस्थाको अन्त्य हुन्छ ।’

पूर्व स्वीकृति जाँच

हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । राम्रो काम र कमाइको बाटो खोजिरहेकालाई कसैले आफूले सोचेभन्दा पनि राम्रो काम र कमाइ हुने विदेशका सपना देखाइदियो भने हो जस्तै लाग्छ ।

म्यानपावर र एजेण्टले फूलबुट्टा भरेर सुनाएको कुरामा शंका गर्ने ठाउँ नै नदिन सक्छन् । तर कतिपय त पैसा लिएर भागेका पनि छन् । यसबाट बच्न विभागको वेबसाइटबाट एजेण्टले भनेको कुरा साँचो हो कि हैन भनेर आफैंले जाँच्न सकिन्छ । म्यानपावरसँग लट नम्बर मागेर त्यसमार्फत म्यानपावर वा एजेण्टले भनेको काम हो कि होइन भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

श्रम स्वीकृतीको मोवाइलमा म्यासेज 

अहिले श्रम स्वीकृतिका लागि इ–टोकन अर्थात विद्युतीय पालो प्रणाली लागू भएको छ । श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्नेबित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ ।

आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिनेछ । श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति या अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज आउँछ । 

भिडियाे हेर्नुहाेस् 

श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा मेसेजमार्फत आउनेछ । श्रम स्वीकृतिको फारम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ । त्यसैले मोवाइलमा श्रम स्वीकृतिको म्यासेज आएपछि पनि म्यानपावरले भनेअनुसारकै काममा श्रम स्वीकृति भएको छ कि छैन भनेर जानकारी लिन सकिन्छ । 

कतिले भिसा आइसक्यो, उडान भोलि पर्सि हुन्छ तत्काल पैसा चाहियो भनेका हुन्छन् । तर कतिपय अवस्थामा भिसा पनि आएको हुँदैन, श्रम स्वीकृति पनि भएको हुँदैन । यस्तो अवस्थामा आफैंले वैदेशिक रोजगार विभागको वेबसाइटबाटै श्रम स्वीकृति भए नभएको जाँच गर्न सकिन्छ । 

म्यानपावरको अवस्था जाँच

विभागले उजुरीको आधारमा कहिलेकाहीँ म्यानपावरलाई कालोसूचीमा राखेर काम गर्न बन्देज लगाएको हुन्छ । त्यस्ता म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने प्रक्रिया अघि बढाएमा पनि ठगीमा पर्न सकिन्छ ।

तर यसबाट बच्न आफूलाई वैदेशिक रोजगारीमा पठाउँछु भन्ने म्यानपावरको अवस्था कस्तो छ भनेर आफैंले जाँच गर्न सकिन्छ । विभागको वेबसाइटमा म्यानपावरको अवस्था के छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

मोबाइल एपको प्रयोग

सरकारले ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप पनि ल्याएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचना मोबाइल एपबाट पनि पाउन सकिन्छ । यो एपबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी पाइन्छ ।

पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनीको बारेमा, अभिमुखीकरण तालिम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण पाउन सकिन्छ । 

भिडियाे हेर्नुहाेस् 

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बीमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिनेछ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एपबाटै पाउन सकिन्छ ।

आफ्नो मोवाइलको प्लेस्टोरमा गएर वैदेशिक रोजगारी नामको मोबाइल एप डाउनलोड गर्न सकिन्छ । 

सम्बन्धित देशमा जाँदा लाग्ने खर्चबारेको जानकारी

मलेसिया र यूएईसँग नेपाल सरकारले एक रुपैयाँ पनि नतिरी जान पाउने गरी श्रम समझदारी गरेको छ । खाडीका अरु देशमा जाँदा १० हजार रुपैयाँ मात्र तिरे पुग्ने व्यवस्था छ ।

त्यसैले तपाईँसँग बढी रकम मागेमा, भिजिट भिसामा लगेर राम्रो काम लगाइदिने आश्वासन दिएमा, सेटिङमार्फत यूरोपका देश र अमेरिका लैजान्छु भन्दै बढी रकम मागेमा सचेत हुनुहोस् ।

तपाईँ उनीहरुका यस्तै कुरामा विश्वास गर्दा ठगीमा पर्न सक्नुहुन्छ । वैदेशिक रोजगारीको प्रक्रियामा कतै पनि आफूलाई शंका लागेमा वैदेशिक रोजगार विभागमा सिधै सम्पर्क गर्नुहोस् ।

विदेश जाने प्रक्रिया गर्दा बनेका सबै कागजपत्र आफूसँग सुरक्षित रुपमा राख्नुहोस् । तपाईँ सचेत भए तपाईँको रोजगारीको यात्रा सुरक्षित र सुखदायी हुने छ ।

कल सेन्टरमा फोन गरेर जानकारी

तपाईँलाई कसैले बढी पैसा माग्दैछ, या कुनै समस्यामा परेको छ भने कल सेन्टरमा तत्काल फोन गर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरुका गुनासो र समस्या, देशभित्रको श्रम र सामाजिक सुरक्षा विषयका गुनासा र समस्या सुन्न र समाधान गर्न सिंहदरबारमा कल सेन्टर छ । कल सेन्टरमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सकिन्छ । देशभित्र भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गरेर गुनासो राख्न र जानकारी लिन सकिन्छ ।

विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् । ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिनेछ । साथै वैदेशिक रोजगार विभागमा रहेको टोल फ्रि नम्बरमा फोन गरेर पनि आफ्नो गुनासो राख्न सकिन्छ ।

रोजगार सेवा केन्द्र

अहिले ७५३ वटै पालिकाहरुमा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । यो सेवा केन्द्रबाट पनि सुरक्षित वैदेशिक रोजगारका बारेमा जानकारी लिन सकिन्छ । सेवा केन्द्रबाट बेरोजगारको विवरण संकलन गर्ने, अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलव्ध गराउने योजना बनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयमा नै जानकारी लिन सक्ने व्यवस्था पनि छ । प्रशासन कार्यालयमा रहेको सूचना केन्द्र वा हेल्प डेक्सबाट पनि वैदेशिक रोजगारी सम्बन्धी जानकारी लिन सकिनेछ ।

अबदेखि पासपोर्ट बनाउन जाने सबैलाई सुरक्षित वैदेशिक रोजगारीका बारेमा जानकारी दिनेगरी काम अघि बढाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया